दश अर्ब कहाँ गयो, लकडाउनले के भयो ?

अर्चना शर्मा
२०७७ जेष्ठ २५, आईतबार मा प्रकाशित ९९० पटक पढिएको
दश अर्ब कहाँ गयो, लकडाउनले के भयो ?

जेठ २५, काठमाडौं । नेपालमा दुइजना संक्रमित हुँदा लकडाउन सुरु भएको थियो । सरकारी तथ्यांकहरुले भन्छन्, आज संक्रमितहरुको संख्या ३ हजार ३ सय हाराहारी पुग्यो । १३ जनाको मृत्यु भइसक्यो । सरकारी ढुकुटीबाट कोरोना नियन्त्रणका लागि भनेर १० अर्ब रुपैयाँ सकिसक्यो । प्रश्न सोध्न मन लाग्छ, ७० दिनदेखि आज्ञाकारी भएर घरबसेर के फाईदा भयो त सरकार ? यो सरकार न त विकल्प दिन्छ न त जवाफ दिन्छ । ७० दिन देखिको लकडाउन हेर्दा लाग्छ, सरकार केवल लकडाउनका नाममा जनतालाई दुख दिन उद्यत छ ।

१० अर्व खर्च गरेर संक्रमण घटेको भए त चित्त पनि बुझ्थ्यो होला तर संक्रमण झनझन बडेको वढ्यै छ । संक्रमण रोक्नका लागि हजारौं नेपाली नागरिकलाई सीमापारी रोकिएको छ । देश छिर्न प्रतिक्षारत नेपालीहरु विरामी परिरहेका छन्, मृत्युवरण गरिरहेका छन् । विदेशमा रहेका युवाहरुको रगत पसिनाले साटेको रेमिटेन्समा चलेको सरकार तिनै जनतालाई फर्कन नदिने उद्घोष गर्छ । विदेशमा वसेका नेपालीहरुलाई मेरो पनि देश छ, संकट पर्दा हामीलाई मद्धत गर्ने हाम्रो सरकार छ भन्ने सोच्नसम्म पनि दिंदैन । यस्तै वेला त सोध्न मन लाग्छ, यत्रो पैसा संक्रमण घटाउन खर्च भयो कि बढाउन रु देशमा अर्थ पढेका अर्थमन्त्री छन् भनिन्छ, तर परिस्थिति हेर्दा लाग्छ, अहिले देशमा अनर्थ पढेका अर्थमन्त्री छन् ।

यस्तैवेला भन्न मन लाग्छ, साबुन लगाएर २० सेकेन्डसम्म मिचिमिची हात धोऔ र ४० सेकेन्डसम्म सफा पानीले पखालौ किनकी यहि हात हो जसले भोट दिएर यी मुर्खहरुलाई प्रधानमन्त्री, मन्त्री र सांसद वनाएका हौं । देशको वेहाल हेर्दा सोध्न मन लाग्छ, अव कोरोना संक्रमणले मर्ने कि खान नपाएर मर्ने ? सरकारको आदेश मान्ने कि मनको आदेश मान्ने ? सरकारको आदेश मानौ भोकै मर्ने पीर । मनको आदेश मानौ कानुन लाग्ने पीर । अव पनि आफ्ना पेशा व्यवसाय रोकेर के खाने रु के गर्ने रु कोरोना संक्रमण रोक्ने न त औषधि छ, न त यो टुंगिने कुनै समयसीमा छ, न त लकडाउनले रोकिएको छ, यस्तो वेला सोध्न मन लाग्छ, सरकार विवेक छ कि छैन ? संसारका सवै मुलुकहरुले अव कोरोना संगसंगै वांच्ने प्रण गरेर अर्थतन्त्र खोलिसके ? हे अनर्थ पढेका अर्थमन्त्री, कसरी अव नेपाली अर्थतन्त्र टिकाउंछौ ?

नेपाली जनताले सरकारलाई साथ दिएका हुन् । सरकार वनाउन र लकडाउन सफल वनाउन । तर लकडाउनले समस्या समाधान नभएपछि विकल्प त खोज । अव पनि विकल्प खोजेनौ भने जनताले विकल्प खोज्नेछन् । जनताको विकल्प भनेको विद्रोह हुनेछ, जसलाई तिम्रो कुनै तागतले रोक्न सक्नेछैन, जसरी अहिले संसारभर व्लाक लाइभ्स म्याटर विद्रोहलाई कसैले रोक्न सकेको छैन । जनतासंग ठट्टा नगरन । विद्रोह यसरी अगाडि वढ्न सक्नेछ, जुनवेला फेरी पनि प्रश्न सोध्न मन लाग्नेछ, तिम्रो सरकार कहां थियो ? तिम्रो विवेक कहां थियो ?

तिम्रो विवेक देख्दा जनता अचम्मित भएका छन् सरकार । विमान चढेर आउनेहरु होटल र पार्टी प्यालेसका सुविधाजन क्वारेन्टाइनमा छन् । वस र ट्रेन चढेर आउनेहरु रुखमुनिको क्वारेन्टाइनमा छन् । यस्तैवेला त सोध्न मन लाग्छ, जनता जनतावीचमा यति विभेद गर्ने सरकारलाई अव पनि नेपाली जनताले कसरी आफ्नो सरकार मान्ने ?

विभेद आंखा अगाडि यसरी दिनदिनै आएका छन् । मानिसहरु आंखा चिम्लिएर विभेद सहिरहेका छन् । सडकमा ठेला गुडाएर तरकारी व्यापार गर्नेहरुलाई रोकिएको छ तर अर्वपतिहरुका सुपरमार्केट खोल्न दिइएको छ । हामी आफ्नो सुरक्षा आफै गर्छौ भन्दा जवरजस्ती पुलिस लगाएर काम वन्द गराइएको छ । सोध्न मन लाग्छ, यसरी जनतालाई कति दिन थुन्न सक्छौ ? विकल्प विनाको तिम्रो अधिनायकवाद कतिदिन चल्न सक्छ ?

जनताले यतिन्जेल तिमीलाई भोट दिएका हातहरु धोइसकेका छन्, ती हातहरु तिमीलाई सत्तावाट फाल्न उठ्न सक्नेछन् । यस्तो वेला सोध्न मन लाग्छ, वासी चुट्किला सुनाएर कति दिन तिम्रो सरकार चल्छ ।

प्रतिक्रिया दिनुहोस