खुकुलो लकडाउनमा मास्कबहादुरको कसिलो हाच्छ्यूँ !

प्रधानमन्त्रीले कोरोना लाग्यो भने हाच्छ्यूँ, साच्छ्यूँ गरेर उडाइदिनुपर्छ भनेपछि डर आफैं डराएर भागि सक्यो
मिलन तिमिल्सिना
२०७७ अषाढ ६, शनिबार मा प्रकाशित २२३ पटक पढिएको



असार ६, काठमाडौं । लकडाउन खुकुलो भएको सुनेपछि मास्कबहादुरले आङ बटारे । कच्याककुचुक भएको मास्क मिलाए । एकपटक जोडले हाच्छ्यूँ गरे । हिजो अस्तिसम्म हाच्छ्यूँ गर्न डर लाग्थ्यो । तर प्रधानमन्त्रीले कोरोना लाग्यो भने हाच्छ्यूँ, साच्छ्यूँ गरेर उडाइदिनुपर्छ भनेपछि डर आफैं डराएर भागि सक्यो । हाच्छ्यूँ गरेपछि आउँदै गरेको कोरोना पनि भाग्छ भन्ने लागेर हाच्छ्यूँ गरेपछि फेरि मुखमा मास्क लगाए ।

तीन महिनाअघि फुकालेर राखेको लुगा बल्लतल्ल फेला पर्यो । पाइन्टको कुन प्वालमा कुन चाहिँ खुट्टा राख्ने भनेर एकछिन अलमल भयो । बल्लबल्ल जानियो । लकडाउन मात्रै होइन, पाइन्ट पनि खुकुलो भएछ । अरुले त फेसबुकमा थरिथरीका परिकार बनाएको, खाएको, पिएको, मोटाएको र लुगाफाटा पनि साना भएका कुरा गर्थे । तर मास्कबहादुरको चाहिँ पाइन्ट पनि लकडाउनजस्तै खुकुलो भएछ । खुकुलो मात्रै होइन, ह्वाङ्गै ।

चेन र टाँकले मात्रै पाइन्ट कम्मर अडिएन । पेटी खोजेर लगाउन थाले । एकातिरको पेटीघरबाट पेटी छिराउँदै अर्कोतिरको पेटीघरबाट निकाल्न बेर लाग्यो । त्यसमाथि पछिल्तिरको दुईवटा पेटीघरमा त पेटी नै छिरेनछ । ठिकै छ भनेर पेटीले पाइन्ट कसे । अनि सर्ट लगाउन थाले । सर्टको टाँक लगाउन पनि बिर्सिसकिएछ । एकातिरको टाँक माथितिरको प्वालमा र अर्कोतिरको टाँक तलतिरको प्वालमा परेपछि कल्लर र फेद मिलेन । बल्लतल्ल टाँक मिलाएर लगाउन जानियो । त्यसपछि मास्कबहादुर श्रीमतीसँगै काममा निस्के ।

घरमा एउटा मोटरसाइकल छ, सार्वजनिक गाडी चल्दैनन् । श्रीमतीलाई मोटरसाइकलको पछाडि राखेर घरबाट निस्के । अलि पर पुगेपछि ट्राफिक प्रहरीले रोके । मोटरसाइकलमा दुईजना किन बसेको भनेर हकारे । मास्कबहादुरलाई अचम्म लाग्यो । राती श्रीमान–श्रीमती एउटै खाटमा सुत्न हुने, सँगै घरमा बस्न हुने, अनि मोटरसाइकलमा चाहिँ चढ्न नहुने ? भरे सुत्ने बेलामा पनि सँगै नसुत्नु भनेर प्रहरी लोरौ लिएर जाने हो कि भनेर डर लाग्यो । फेरि हाच्छ्यूँ गरे । त्यसपछि श्रीमतीलाई बाइकबाट ओराली हिँड्दै गर्नु भनेर अगाडि बढे ।

अर्को चोकमा फेरि अर्का ट्राफिकले रोके । जोर गतेको दिन किन बिजोर चलाएको भनेर हप्काए । अघि एउटाले जोडी मान्छे किन भनेर गाली गर्यो, अहिले अर्कोले बिजोर बाइक किनभनेर गाली गर्छ । हैन कोरोना भाइरस उस्तो हो कि सरकार उस्तो हो ! कोरोनाले जोर गतेको दिन बिजोरकालाई र बिजोर गतेका दिन जोरकालाई मात्र छुने रहेछ कि कसो ?

खै के हो के, मास्कबहादुर रनभुल्ल परे । फेरि पनि हाच्छ्यूँ आयो । बल्लतल्ल ती ट्राफिकबाट फुत्केर काममा पुगे । तीन महिनाअघि भेट भएका साथीहरु सबै नचिनिने भएछन् । सबैका अनुहारमा मास्क । कसैको चिउँडोमा, कसैको निधारमा, कसैले दोबारेर नाकमा मात्रै पनि मिलाएका, कसैको घाँटीमा, कसैको हातमा । जे होस मास्क साथमा हुनुपर्यो, जहाँ जसरी लगाए पनि कोरोनाले नछुने रहेछ । मास्कबहादुरलाई यस्तै लाग्यो ।

साथीहरुको रुपरंग मात्रै होइन, धेरै कुरा फेरिएछन् । तीन महिनाअघि छुट्टिने बेलामा ओहो दुई जनालाई कोरोनाले छोइसकेछ है भनेर आश्चर्य मानिन्थ्यो । कोरोनाको नाम सुन्नेबित्तिकै डर लाग्थ्यो । अहिले त साथीहरु कोरोना केही नै होइन भन्न थालिसकेछन् ।

पहिले घर बस्दा कोरोनाले एकजना मरे रे भन्दा मुटु ढुकढुक भएको थियो । अहिले त दिनमै तीन, चारजना मरे, दिनमै ६ सयभन्दा बढी सङ्क्रमित थपिए रे भन्ने सुन्दा पनि सामान्य लाग्ने भैसकेछ । त्यसमाथि डाक्टरभन्दा पनि जान्नेबुझ्ने प्रधानमन्त्रीले कोरोना केही होइन, नडराउ भनेका छन् । प्रधानमन्त्रीले भनेका, कोरोना लाग्यो भने पनि हाच्छ्यूँ, साच्छ्यूँ गरेपछि ठिक हुन्छ रे ! हाच्छ्यूँ, साच्छ्यूँले ठिक हुने भए किन यतिका दिन लकडाउन गरेको ? किन अरु सबै छोडेर कोरोना कोरोना मात्रै भनेर कराएको ? कोरोना नियन्त्रण गर्न १० अर्ब खर्च भो भन्थे, त्यतिका रकम हाच्छ्यूँ, साच्छ्यूँ गरेरै सकेको हो त ? सम्झेर मास्कबहादुरलाई फेरि हाच्छ्यूँ आयो ।

तर मनमा यस्ता अनेक ओली कुरा खेलायो भने आत्मबल कमजोर होला । रोग प्रतिरोधात्मक क्षमता कमजोर होला र प्रधानमन्त्रीको ज्ञानमै चुनौती थपिएला भन्ने लागेर मन दह्रो बनाउन प्रयास गरे । फेरि पत्रिकामा प्रधानमन्त्रीले भनेको कुरामा आँखा पर्यो । प्रधानमन्त्रीले भनेछन् : ‘कोरोनाको डर साउनमा अलि बढी छ, त्यसपछि दशैं तिहारको बेला । फागुनमा चाहिँ नियन्त्रण हुन्छ ।’

फागुनमा कोरोना साम्य हुन्छ भने बीचका यी महिना चाहिँ किन राख्ने ? एकैपटक असारपछि फागुन गरौं न त । नक्सामा चुच्चो थप्न सक्नेले जाबो क्यालेण्डर र पात्रोबाट यति महिना निकालेर फाल्न किन नसक्ने ? मास्कबहादुरलाई फेरि हाच्छ्यूँ आयो ।

source: ujyaaloonline.com

प्रतिक्रिया दिनुहोस