लेस्टर सिटीमाथि टोटह्यामको महत्वपूर्ण जित

नौलो समाचार संवाददाता
२०७७ श्रावण ५, सोमबार मा प्रकाशित १०४१ पटक पढिएको
लेस्टर सिटीमाथि टोटह्यामको महत्वपूर्ण जित

साउन ५, एजेन्सी। टोटनह्यामले आउँदो सिजन युरोपा लिग फुटबल खेल्ने सम्भावना बनाएको छ।

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा लेस्टर सिटीमाथि ३–० को जित निकालेर जोसे मोरिन्होको टिम टोटह्यामले शीर्ष ६ मा पर्ने सम्भावना कायम राखेको हो ।

घरेलु मैदानमा भएको खेलमा टोटनह्यामका लागि ह्यारी केनले दुई गोल गरे । एक गोल भने उपहारमा पायो । लेस्टर सिटीका जस्टिनले छैटौँ मिनेटमा आत्मघाती गोल गरेर टोटनह्यामलाई अग्रता दिलाए ।

त्यसपछि केनले पहिलो हाफमै दुई गोल गरे । उनले ३७ र ४० औँ मिनेटमा गोल गरेका हुन् । दोस्रो हाफमा थप गोल भएन र टोटनह्याम ३–० ले विजयी भयो ।

जितपछि छैटौँ स्थानमा उक्लिएको टोटनह्यामको ३७ खेलबाट ५८ अंक भएको छ । सातौँ स्थानमा झरेको वुल्भ्सको ५६ अंक छ । पराजित लेस्टर सिटीले च्याम्पियन्स लिगमा स्थान बनाउन अति संघर्ष गर्नु पर्ने भएको छ । चौथो स्थानमा रहेको लेस्टरको ६२ अंक छ ।

लिग अन्तर्गत आइतबार राति नै भएको खेलमा रेलिगेशनको जोखिममा रहेको बोर्नमाउथ साउथह्याम्पटनसँग २–० ले पराजित भएको छ ।

घरेलु मैदानमा भोगेको हारले बोर्नमाउथ रेलिगेशनमा पर्ने सम्भावना बलियो देखिएको हो । उ ३१ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस