सातवटै प्रदेशमा निरन्तर वर्षा, पहिरो तथा डुबानकाे खतरा, सतर्क रहन आग्रह

नौलो समाचार संवाददाता
२०७७ श्रावण ५, सोमबार मा प्रकाशित ९२६ पटक पढिएको
सातवटै प्रदेशमा निरन्तर वर्षा, पहिरो तथा डुबानकाे खतरा, सतर्क रहन आग्रह

साउन ५, काठमाडौं। जल तथा मौसम विज्ञान विभागले अविरल वर्षाका कारण बाढी, पहिरो तथा डुबान हुनसक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ ।

आइतबारबाट सुरु भएको भारी वर्षाको क्रम अझै चार दिन रहने भन्दै पहाडी भूभागमा पहिरो तथा भूक्षय र तराईका क्षेत्रमा बाढी, डुबान तथा नदी कटाको सम्भावना रहेको भन्दै सबैलाई सचेत रहन विभागले आग्रह गरेको छ ।

हवाई तथा सडक यातायात सेवासमेत प्रभावित हुनसक्ने भन्दै त्यसतर्फ पनि सतर्क रहन विभागको अनुरोध छ ।

यसैबीच, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अब चारदिनसम्म लगातार भारी वर्षा हुने जनाएको छ । लगातारको भारी वर्षाका कारण चुरे तथा पहाडी भूभूभाग गलिसकेकाले सतर्क रहन प्राधिकरणको आग्रह छ ।

बाढी, पहिरोको उच्च सम्भावना भएकाले सर्तक रहन आग्रह गरेको प्राधिकरणले तराईका नदी तथा आसपासका क्षेत्र र सीमावर्ती क्षेत्रमा डुबानको सम्भावना भएकाले पूर्व तयारी अपनाउन आग्रह गरेको छ ।

आपतकालीन सेवाका लागि प्राधिकरणले आपतकालीन कार्यसञ्चालन केन्द्रको १४४९ र पाढी तथा पहिरोको पूर्व जानकारीका लागि जल तथा मौसम विज्ञान विभागको ११५५ नम्बरमा २४ सै घण्टा सम्पर्क गर्न सकिने प्राधिकरणको भनाइ छ ।

विपद् व्यवस्थापनमा संलग्न सबै सुरक्षा निकायलाई उद्दारका लागि तयारी अवस्थामा राखिएको तथा गैरसरकारी निकायलाई समेत तुरुन्त परिचालन हुने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस