बोहोरा हत्या काण्ड : अनैतिक सम्बन्ध र पैसा मुख्य कारक

नौलो समाचार संवाददाता
२०७७ श्रावण २७, मंगलबार मा प्रकाशित १०३८ पटक पढिएको
बोहोरा हत्या काण्ड : अनैतिक सम्बन्ध र पैसा मुख्य कारक

साउन २७, काठमाडौँ। काठमाडौंको गोंगबुमा भएको विभत्स हत्यामा संलग्न महिलालाई प्रहरीले  सार्वजनिक गरेको छ ।

हत्यामा संलग्न चितवन कालिका नगरपालिका–७ घर भई हाल टोखा नगरपालिका १० नवज्योति मार्ग बस्ने ३७ वर्षीय कल्पना मुडभरी पौडेल र उनकी १५ वर्षीया छोरीलाई प्रहरीले आज सार्वजनिक गरेको हो । मृतक रोल्पा रुन्टीगढी गाउँपालिका ७ घर भइ हाल गोंगबुस्थित एक होटलमा बस्दै आएका ४५ वर्षीय कृष्ण बहादुर बोहोरा थिए । मृतक बोहोरा र पौडेलबीच फेसबुकबाट चिनजान भएको खुलेको छ । पौडेल मोडलिङ क्षेत्रमा समेत काम गर्दै आएकी थिइन् ।

मृतक बोहोरा र पौडेलबीच शारीरीक सम्बन्ध र पैसाको लेनदेन रहेको अनुसन्धाबाट खुलेको छ । बोहोरा बेला(बेलामा पौडेललाई भेट्न उनको कोठामै जाने गरेका थिए । बोहोराले पौडेलको फेसबुक आइडी चलाउने गरेको र आफूले भनेर अनुसार चल्न दबाब दिने गरेका थिए । उनीहरुबीच पैसा लेनदेनको विवाद समेत रहेको अनुसन्धानमा खुलेको छ ।

घटनाको दिन मृतक बोहोरा बा ७२ प ५६४४ नंम्बरको स्कुटी लिएर पौडेलको कोठामा पुगेका थिए । पौडेलको बयान अनुसार उनलेले बोहोरालाई चिउरा, मासु, भोड्का र ५ वटा निन्द्राको औषधी मिसाएको दही, खुवाएकी थिइन् । निन्द्राको औषधी खाएलगत्तै लठ्ठीएर सुतेका बोहोरालाई पहिले फलामको ह्याम्मरले अण्डकोषमा प्रहार गरेको र त्यसपछि सलले घाँटीमा थिचेको प्रहरीले बताएको छ । बोहोराको मृत्यु भइसकेपछि पौडेलले धारिलो हतियार प्रयोग गरी शव टुक्रा टुक्रा पारेकी थिइन् । शवको टाउको, हात र खुट्टा छुटै ठाउँमा र बाँकी भाग सुटकेशमा राखी आफ्नो कोठा भन्दा केही पर बाटोको छेउमा फालेकी थिइन् ।

सो घटनापछि पौडेल छोरीका साथ चिनेजानेको एम्बुलेन्सबाट चितवन पुगेकी थिइन् । घटनामा प्रयोग भएको धारिलो हतियार, ह्याम्मर, पञ्जा, सल, नाम्लो लगाएतका सामाग्री प्रहरीले बरामद गरेको छ । घटनाको कारण अनैतीक रुपमा बनेको शारीरीक सम्बन्ध र पैसा लेनदेन रहेको प्रहरी अनुसन्धानबाट खुुलेको छ । आइतबार बिहान टोखा नगरपालिका १० गोंगबुको नवज्योति मार्गमा प्रहरीले कालो रंगको सुटकेश बरामद गरेको थियो । रगत लत्पत्तिएको सुटकेश देखेपछि स्थानियल प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोलीले सुटकेस खोली हेर्दा सुटकेसभित्र टाउको बिनाको शव फेला परेको थियो । शरीरको अन्य भाग कुकुरको सहारामा सोही स्थानको केही पर फेला परेको थियो । मृतकको पहिचान खुल्न नसकेपछि सनाखतका लागि प्रहरीले मृतकको फोटोे सार्वजनिक गरेको थियो । फोटो सार्वजनिक भएसँगै मृतकको पहिचान खुलेपछि घटनाको अनुसन्धान अघि बढेको थियो ।

प्रतिक्रिया दिनुहोस