पार्टी सभापति देउवाले विधान मिचेर बहादुरी देखाए : पौडेल

नौलो समाचार संवाददाता
२०७७ श्रावण २८, बुधबार मा प्रकाशित ३३३ पटक पढिएको

पार्टी सभापति देउवाले विधान मिचेर बहादुरी देखाए : पौडेल

साउन २८, काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाले पटक–पटक विधान मिचेर बहादुरी देखाएको टिप्पणी गर्नुभएको छ ।

उहाँले आफूले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि बलमिच्याइँ गरेको आरोप लगाउनुभयो ।

वरिष्ठ नेता पौडेलले विधान मिच्दा आफू बहादुर ठहर्छु भन्ने मानसिकता सभापति देउवामा देखिएको बताउनुभएको हो ।

विधान मिचेर बहादुर देखाउन खोज्ने प्रवृत्तिका कारण पार्टी प्रजातान्त्रिक हो कि होइन भन्ने खतरा बढेको नेता पौडेलको टिप्पणी छ ।

पार्टीको महाधिवेशन समयमै गर्न नसके पार्टी संकटमा पर्नसक्छ भन्दै आफूले तीन वर्षदेखि कार्यतालिका बनाएर काम गरौं भनेपनि सभापति देउवाले नमानेको पौडेलले बताउनुभयो ।

महाधिवेशन गर्ने समयमा असाधारण स्थिति भयो भन्दै पछाडि धकेलेको र अहिलेको असाधारण अवस्थामा विधान मिच्दै महाधिवेशनलाई प्रभाव पार्न खोजेको पौडेलले बताउनुभयो ।

नेता पौडेलले फागुन ७ गतेका लागि मिति तोकेर महाधिवेशनको तयारी सुरु भएकोले अहिलेदेखि नै आचारसंहिता सबैलाई लाग्ने बताउनुभयो ।

पार्टीमा विधान मिचेको विषयलाई गम्भीरतापूर्वक उठाउँदै जाने र महाधिवेशनबाट सभापति देउवाको विकल्प खोज्ने पौडेलले बताउनुभयो ।

अहिलेको केन्द्रीय समितिमा उहाँको नै बहुमत भएकाले त्यहाँबाट विकल्प खोज्न नसकिने भएकाले महाधिवेशनमा नै प्रमाणसहित विकल्प खोज्ने पौडेलले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस