अष्ट्रेलियाले अक्सफोर्डसँग खोप सम्झौता गर्यो, सबै नागरिकलाई निशुल्क प्रदान गर्ने

नौलो समाचार संवाददाता
२०७७ भाद्र ५, शुक्रबार मा प्रकाशित ८६७ पटक पढिएको

अष्ट्रेलियाले अक्सफोर्डसँग खोप सम्झौता गर्यो, सबै नागरिकलाई निशुल्क प्रदान गर्ने

भदौ ५ बीबीसी । अष्ट्रेलियाले औषधि निर्माणकर्ता एस्ट्राजेनेकासँग कोभिड–१९ को सम्भावित खोप आपूर्ति गराउने सम्बन्धी सम्झौता गरेको छ जुन सम्पूर्ण जनसङ्ख्यामा निशुल्क वितरण गरिने सरकारले मंगलबार घोषणा गरेको हो । यसरी अक्सफोर्ड युनिभर्सिटी र कम्पनी एस्ट्राजेनेका मिलेर काम गरिरहेको उक्त भ्याक्सिनको क्लिनिकल ट्रायल सफल भएमा अष्ट्रेलियाले सुरुवाती पहुँच पाउने प्रधानमन्त्री स्कट मोरिसनले बताएका हुन् ।

यसका साथै मोरिसनले सबैका लागि खोप अनिवार्य गरिने पनि बताएका छन् । अष्ट्रेलियामा कोभिडका कारण ४५० को मृत्यु भएको छ भने अधिकांश संक्रमित भिक्टोरियामा रहेका छन् जसकारण अघिल्लो महिना मात्र भिक्टोरियाले आपत्कालीन घोषणा गरि कडा लकडाउन जारी गर्नु परेको हो । त्यहाँ अझैपनि ७ हजार बढी संक्रमित बिरामी छन् । केही हप्ता यता नयाँ बिरामीहरु थपिने दर कम हुँदै गएको छ ।

यसबारे प्रधानमन्त्री मरिसनले भनेका छन्, “यो खोपको परक्षिण सफल भएमा हामीले यसको उत्पादन तिव्र बनाइ २५ मिलियन अष्ट्रेलियनहरुका लागि निःशुल्क बनाउनेछौँ । ” यसमा देशभरका पूरै जनतालाई खोप वितरण गर्ने खर्च कति हुनेछ भन्ने सम्बन्धी चाहिँ आधिकारिक जानकारी प्राप्त भएको छैन ।

यसबाहेक अष्ट्रेलियाले छुट्टै अर्को एक अमेरिकी कम्पनी, ‘बेक्टन डिकिन्सन’ सँग पनि १ करोड ८० लाख डलर बराबरको सम्झौतामा हस्ताक्षर गरेको छ जसले १० करोड बढी सुइ र सिरिन्जहरु आपूर्ति गर्ने बताएको छ । अष्ट्रेलिया र एस्ट्राजेनेकाबीच भएको सम्झौता चाहिँ विश्वकै पहिलो किसिमको भएको बताइएको छ । सो खोप अर्को वर्षको सुरुवात तिर नै उपलब्ध भइसक्ने अपेक्षा गरिएको छ ।

खोपलाई अनिवार्य बनाउने सम्बन्धमा भने मोरिसनले यस्तो भनेका हुन्, “स्वास्थ्य अवस्था र परिस्थित हेरेर केही अपवाद हुन सक्छन् तर त्यसबाहेक सबैले खोप लगाउनैपर्ने हुन्छ । किनकी यहाँ हामी सानोतिनो रोग होइन विश्व महामारीको कुरा गरिरहेका छौँ जसले लाखौँको ज्यान लिइसकेको छ भने विश्व अर्थतन्त्र तहसनहस पारिदिएको छ । ” उनका अनुसार सरकारको लक्ष्य ९५ प्रतिशत जनसङ्ख्यालाई खोप लगाउनु रहनेछ ।


प्रतिक्रिया दिनुहोस