कुलमानको कार्यकाल थप्नेबारे निर्णय भएकाे छैन, यसरी फैलियो हल्ला !

नौलो समाचार संवाददाता
२०७७ भाद्र ९, मंगलबार मा प्रकाशित ९४८ पटक पढिएको
कुलमानको कार्यकाल थप्नेबारे निर्णय भएकाे छैन, यसरी फैलियो हल्ला !

भदौ ९, काठमाडाैँ। मङ्गलबार बेलुका पाँच बजेपछि सामाजिक सञ्जालमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल थप भएको बारे निकै हल्ला भयो । मन्त्रिपरिषद्को बैठकले कुलमान घिसिङको कार्यकाल चार वर्ष थपेको भन्दै ट्विटर र फेसबुकमा बधाई दिनेको ओइराे लाग्यो । प्रतिष्ठित व्यक्तिहरुले पनि कुलमानलाई बधाई दिइरहेका थिए । केही सञ्चारमाध्यमले पनि घिसिङको कार्यकाल थप भनेर समाचार लेखे ।

तर कुलमान घिसिङलाई विद्युत् प्राधिकरणमा दोहोर्‍याउनेबारे मङ्गलबारको मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव नै पुगेको थिएन । कुलमानको विषय मन्त्रिपरिषद्काे आजको एजेन्डा नै थिएन । २९ गते कार्यकाल सकिने कुलमानको बारेमा मन्त्रिपरिषदमा प्रस्ताव नै नजाँदै समय थपिएको खबर भाइरल भएपछि मन्त्रीहरु नै छक्क परेका छन् ।

कुलमान घिसिङको कार्यकाल भदौ २९ गते सकिँदैछ । भदौ २१ गतेअघि नै कार्यकाल सकिन लागेका अर्थ मन्त्री डाक्टर युवराज खतिवडाको निर्णय नगरेको सरकार २९ गते कार्यकाल सकिने घिसिङको कार्यकाल थप्ने हतारोमा छैन । हरेक हप्ता दुई वटा मन्त्रिपरिषद्का बैठक बस्छन्, यस हिसाबले २९ गतेसम्म ६ वटा मन्त्रिपरषद्का नियमित बैठक नै बस्ने छन् । ६ वटा बैठकअघि नै कुलमानको बारेमा नियुक्ति गर्न सरकारलाई कुनै हतारो नै देखिन्न ।

यसरी फैलियो हल्ला !

यही भदौ २९ गते चार वर्षे कार्यकाल सकिन लागेका घिसिङलाई फेरि प्राधिकरणमै नेतृत्व दिनुपर्छ भन्ने आवाज बढ्दै गएको छ । सामाजिक सञ्जालमा पनि चर्को माग छ । हरिवंश आचार्य, मनोज गजुरेल, करिश्मा मानन्धरलगायतका कलाकारले सामाजिक सञ्जालबाटै कुलमानको कार्यकाल थप्न माग गरिरहेका थिए । मङ्गलबार दिउँसो यस्ता खबरले पनि निकै स्थान पाए ।

तर कुलमानलाई मन्त्रिपरिषद्ले दोहोर्‍याएकाे खबरको सुरु गरेका थिए हास्य कलाकार दीपकराज गिरीले । उनले फेसबुकमा लेखेका थिए, ‘आज बसेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई नै विद्युत् प्राधिकरणको प्रमुख पदमा निरन्तरता दिने निर्णय गरेको छ । सरकारसँग यस्तै आसयकाे समाचार प्रेसित गरेर जनताकै पक्षमा उभिनुकाे विकल्प छैन।’

दीपकराजको यो स्टाटस फैलिन समय लागेन । फेसबुकदेखि ट्विटरसम्म उनकै स्टाटस शेयर र स्क्रिनशर्टसहित फैलाउने काम भयो । दीपकराजकै स्टाटसलाई आधार मानेर सामाजिक सञ्जालमा कुलमानको नियुक्ति दोहोरिएको विषय भाइरल भयो । उनको स्टाटसमा १२ हजारभन्दा धेरैले लाइक गरेका छन्, ११ सय जनाको कमेन्ट रहेको छ भने ५९६ पटक शेयर गरिएको छ। स्टाटस भाइरल भएपछि दिपकराज गिरीले अाफ्ना फलाेअर्सलाई कुलमान घिसिङ बारेेेमा कुुुनै निर्णय नभएकाे तर कुुुुल मानकाे कार्यकाल थपिएको सबै    नेपालीले हेेेेर्न चाहेेेेकाे लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस