सडक जीवनको त्यो एक दिन

जानुका खनाल
२०७७ भाद्र २८, आईतबार मा प्रकाशित २६२ पटक पढिएको



✍️  जानुका खनाल:

“आत्मचित्रण”

पुष महिनाको समय, देशभर निकै जाडो बढेको थियो त्यसै बेला बिहानपख खसेको शीतको थोपासँगै म झल्याँस्स ब्युँझिएँ । कति बजे छ समय बुझ्न चाहेँ तर मसँग घडी थिएन । यता उता हेरेँ बाटोमा कतै पनि मानिसहरुको आवतजावत भएको थिएन । वरपरको वातावराण पुरै सुनसान थियो । सडकमा केवल मेरो सामुन्ने रहेका कुकुरहरु भुकेको आवाज मात्र सुनिन्थ्यो । जाडो महिनाको समय भएकोले बाक्लो हुसु लागेको थियो । मलाई एक्कासि शरीरमा निकै चिसो भएको महसुस भयो । ओहो ! मैले ओच्छ्याएर सुतेको बाकस त शीतले चुर्लुम्मै भिजिसके छ । अनि मैले ओडेको सानो कपडाको टुक्रा पनि । त्यति नै बेला मेरो आँखा एक्कासि म बसेको सडक पेटी छेउको घरहरुतर्फ पुग्यो । कोही पनि मानिस उठेको देखिँदैनथ्यो । सायद मानिसहरुको उठ्ने समय नै भएको थिएन होला । सबै मानिसहरु कोठाभित्र आफ्नै बिछ्यौनामा बाक्लो सिरक ओढेर बिहानीपखको मिठो निन्द्रामा मस्त निदाइरहँदा म भने खुला आकाशमुनिको चिसो सडकको पेटीमा यो शरीरलाई अडाइरहेको थिएँ ।

केही बेरमा बिस्तारै उज्यालो हुन थाल्यो । झिसमिसे उज्यालोसँगै मानिसहरुको चहलपहल पनि बिस्तारै बढ्दै गयो । सडकमा सवारी साधनहरु पनि गुड्न थाले । केहीबेर अगिसम्मको शान्त सडक र त्यहाँको वातावरण बिस्तारै कोलाहल बन्दै गयो । जति उज्यालो हुँदै जान्थ्योे त्यति नै जाडोले मलाई सताइरहेको थियोे । म निकै कठ्याङग्रीसकको थिएँ । चिसोले शरीर पुरै निलो भइसेको थियो । केही दिन अगाडि कोही व्यक्तिले खोला नजिकै फालेको लुगा लगाएको थिएँ मैले । शरीर ढाक्न अरु कुनै न्यानो कपडा थिएन मसँग । भएको एउटा कपडाको टुक्रा पनि शीतले भिजिसकेको थियो । त्यसै बेला बाक्ला लुगा लगाएर कोही मानिसहरु बिस्तारै दौडँदै मर्निङ वाकको लागि निस्किए । कोही पूजाआजाको लागि निस्किए अनि कोही व्यापार व्यावसायको लागि निस्किए । मैले उनीहरुको अनुहारमा हेर्दै उनीहरुबाट केही न्यायो कपडाको लागि अपेक्षा गर्न खोजेँ तर मेरो नजिकैबाट हिँडेका ती अनगिन्ति व्यक्तिहरुमध्ये कसैको पनि ध्यान मतिर केन्द्रित हुन सकेन । सायद आँखाले देखे पनि मनले भने उनीहरुले मलाई मलाई देखेका रहेनछन् क्यारे मेरो सामु नै आएनन् । मप्रति कुनै साहनुभूति नै देखाएनन् । मलाई केहीबेर निकै नरमाइलो लाग्यो । फेरि सोचेँ जन्म दिएर आफ्नै अभिभावकले त मेरो लागि केही सोचेनन् मलाई अनाथ र बेसाहारा बनाएर सडक पेटीमा छोडेर हिँडे भने अरु अन्जान व्यक्तिले मप्रति करुणा जगाओस् पनि त कसरी रु
हिजो बेलुका साँझसम्म पनि केही अन्नको दाना मुखमा नपरेको हुँदा मलाई भोकले निकै सतायो नजिकै फोहोरको डंगुर थियो त्यहाँ मानिसहरुले फोहोरको साथै बासी खानेकुरा पनि फाल्ने गर्थे । म त्यहाँ जानको लागि बिस्तारै उठेँ चिसोले गर्दा होला पैतालाले भुइँमा टेक्न सकेन । केही दिन अघि मात्र भएको एउटा चप्पल पनि चुँडिएपछि म बिना चप्पल नै सडकमा हिँड्थेँ । मैले खाली खुट्टा नै आफ्नो पाइलालाई अगाडि बढाएँ । ऎया ! मरेँ नि! कसले सिसा फालेको रहेछ । कलिलो छाला भएको मेरो पैताला सिसाले ख्याप्पै काट्यो म पीडा सहन नसकी थुचुक्कै भुइँमा बसँे । पैतालाबाट रगतको धारो बग्न थाल्यो । शीतले भिजेको कपडालाई बेसरी निचोडेर पैतालामाथि बेसरी बाँधे रगत बग्न त बन्द भयो तर दुखाइ भने खपिसक्नु थिएन । भोकले छट्पटिएको शरीर त्यसमाथि थपिएको त्यो चोट म पीडा सहन नसकेर केहीबेर छटपटाउँदै रुन थालेँ ।

एकै छिनमा मेरो नजिकै अपरिचित व्यक्तिले केही फालेर गयो । म घिस्रँदै त्यहाँसम्म गएँ र हेरेँ खानेकुरा रहेछ । बासी खानेकुरा भएर होला अलिअलि गन्हाएको थियो तर पनि ढिलो नगरी त्यो झोलाभित्र भएको खानेकुरा खाएर आफ्नो भोक मेटेँ । भोको पेटमा खान पाएर होला खानेकुरा बासी नै भए पनि ढुङ्गो खोज्दा देउता मिल्यो भनेझैँ लाग्यो मलाई । चोटको कारण म हिँडेर कतै जान नसक्ने अवस्थामा पुगेको थिएँ । भोको पेटमा खान पाएको त्यो खानेकुराले मलाई केही बेर भए पनि राहत दिलायो । केही समयपछि मलाई छट्पटि हुन थाल्यो । आज त कतै जान पनि सक्दिन के गर्ने होला मलाई चिन्ताले धेरै नै सताउन थाल्यो । यसो हेरेँ एउटा डेन्राइट बाँकी रहेछ मसँग । धेरै मानिसले मलाई हेपेर खाते उपनाम दिएर गाली गलोज गरे पनि केही मनकारी मानिसले भने कहिलेकाहिँ केही रकम दिन्थे र त्यो रकमले म डेन्राइट किन्थेँ । डेन्राइट लिँदा भोक प्यास र तनाबबाट केहीबेर भए पनि मुक्त हुने हुँदा म त्यही डेनराइटको साहारा लिने गर्छु । त्यसलाई प्लाष्टिकमा हालेर फुक्दै तान्न थालँे त्यसको नशामा म लठ्ठ परेँ । केही बेर भए पनि पीडा र अभावको जिन्दगीलाई भुलेर नशाकै तालमा मस्त रहेँ । हजारौँ मानिसहरु ओहोर दोहोर गर्दै मेरो रमिता हेर्दै हिँडे पनि मलाई भने उनीहरुको हेराईमा कुनै मतलब नै थिएन । त्यही नशाको तालमा नै मैले मेरो त्यो दिन कटाएँ । यसरी नै पुनः रात पर्न थाल्यो सडक सबै सुनसान हुन थाले । मानिसहरुको आवागमन पनि शून्य भयो । म भने त्यही सडकको चिसो पेटीमा शारीरिक र मानसिक चोटले विक्षिप्त शरीर लिएर एक्लेै बसिरहेँ । सुनसान रातमा म एकछिन आफ्नो जिन्दगीलाई लिएर सोच मग्न भएँ । आजको एक्काइसौँ शताब्दीमा मानिसहरु ऐस आरामको जीवन बिताइरहँदा मेरो भने सडकमा नै जिन्दगी बितिरहेको छ । कस्तो अभागी रहेछु म न मेरो खशीमा रमाउने कोही छ न मेरो दुखमा साथ दिने नै । न अगाडि बढ भनेर हौसला दिने छ न त बिरामी हुँदा तातो पानीसम्म दिने नै कोही छ । मेरो मन एक्कासि भक्कानिएर आयो आँखाबाट आँशुका धारा बगन थाले । केही बेरमा फेरि आफूले आफूलाई सम्हालेँ । रहर आवश्यक्ताहरुको त चाङ् नै थियो नि मसँग पनि तर ती कुरा पुरा नहुने निश्चित भए पछि मन आफैँ मर्दो रैछ क्यारे अब त केही कुराको चाहाना नै छैन मलाई । मलाई थाहा छ अवसर बिनाका ती इच्छाहरु मेरो लागि व्यर्थ छन् । त्यसैले केही कुराको इच्छा राखेर निराश हुनुभन्दा इच्छा नै नगर्नू उत्तम जस्तो लाग्छ आजकल मलाई । हरेक क्षणमा डर, त्रास, अभाव र एक्लोपन हो, आजसममको जिन्दगी त यसरी नै बिताएँ मैले । थाहा छैन यो सडकको बास मेरो लागि कहिलेसम्म हुन्छ भनेर । यतिकैमा मेरो नजिकै आएर मलाई हेर्दै कुकुरहरु भुक्न थाले । कुकुरहरुको त्यो भुकाइमा मैले मप्रति सान्त्वना भाव प्रकट गरेको महशुस गरेँ । मानिसहरु स्वार्थी र बेमतलबी भए पनि म सडकमा भएको दिनदेखि यी कुकुरहरुले मलाई कहिले छोडेका छैनन् । जस्तोसुकै परिस्थितिमा पनि यिनीहरु मेरो समीप नै हुन्छन् । केही बेरपछि मलाई निन्द्रा लाग्न थाल्यो त्यसपछि बिहानको त्यही बाकस ओछ्याएर हत्केलाको सिरानी हालेँ र त्यो चिसो रातमा म निदाउने प्रयास गरेँ ।

प्रतिक्रिया दिनुहोस