खतिवडासहित प्रस्तावित दुई राजदूतविरुद्ध चार उजुरी

नौलो समाचार संवाददाता
२०७७ कार्तिक ३, सोमबार मा प्रकाशित ४३१ पटक पढिएको
खतिवडासहित प्रस्तावित दुई राजदूतविरुद्ध चार उजुरी

कात्तिक ३, काठमाडौं। अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतविरुद्ध संसदीय सुनुवाई समितिमा चार वटा उजुरी परेको छ । समितिले प्रस्तावित राजदूतविरुद्ध परेका उजुरी सोमबार खोलेको हो । उजुरी खोलिएसँगै पत्रकारसँग कुरा गर्दै सभापति लक्ष्मणलाल कर्णले गम्भीर प्रकृतिका चार वटा उजुरी परेको जानकारी दिए ।

समितिले २१ असोजमा १० दिनको म्याद दिएर सार्वजनिक उजुरी आव्हान गरेको थियो । सभापति कर्णले प्रस्तावित राजदूतविरुद्ध परेको उजुरीमा उजुरीकर्ताको नाम उल्लेख भएको तर सम्पर्क नम्बर उल्लेख नभएकाले १७ कात्तिकका लागि समितिमा थप प्रमाणसहित उपस्थित हुन सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय भएको बताए ।

उजुरी परेकामध्ये अमेरिकाका लागि प्रस्तावित राजदूत पूर्वअर्थमन्त्री डा। युवराज खतिवडाविरुद्ध ३ वटा र संयुक्त अधिराज्य ९बेलायत०का लागि प्रस्तावित राजदूत पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी विरुद्ध एक वटा रहेको सभापति कर्णले बताए ।

सरकारले डा। युवराज खतिवडालाई अमेरिकाका लागि आवाशीय राजदूतसँगै पनामा, कोष्टारिका, मेक्सिको, आल्साबाडोर, होन्डुरस र ग्वान्टेमालका लागि गैह्रआवाशीय राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

यस्तै, पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतका लागि आवाशीय र गणतन्त्र आयरल्याण्ड र गणतन्त्र माल्टाका लागि गैह्रआवाशीय राजदूतका लागि सिफारिस गर्ने निर्णय सरकारले गरेको थियो ।

त्यस्तै, डा। निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि आवाशीय राजदूत र वोत्सुवाना, केन्या, कंगो,तान्जानिया, जाम्भीया, जिम्बाब्बे, ज्ञावेनलगायतका देशका लागि गैह्रआवाशीय राजदूत पदमा नियुक्त गर्न सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस