कोराेनासँग लड्ने क्षमता विकासका लागि कस्तो खाने ?

नौलो समाचार संवाददाता
२०७७ कार्तिक ३, सोमबार मा प्रकाशित ९८१ पटक पढिएको
कोराेनासँग लड्ने क्षमता विकासका लागि कस्तो खाने ?

कात्तिक ३, काठमाडाैं। कोभिड संक्रमणबाट जोगिन दैनिक गतिविधिमा सुधार गर्दै खानपिनमा ध्यान दिनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् ।

पछिल्लो समय संक्रमण बढ्दै गएको अवस्थामा रोगसँग लड्ने क्षमताको विकास गर्नु नै उत्तम विकल्प भएको विज्ञहरूले बताएका छन् ।

त्यसका लागि दैनिक गतिविधि र खानपिनमा नै ध्यान दिनुपर्नेमा उनीहरूले जोड दिएका छन् ।

आयुर्वेदिक चिकित्सक डा. ऋषिराम कोइरालाले खाने कुराहरूमा विशेष ध्यान दिनुपर्ने बताए । उनका अनुसार तेलमा तारेर बनाइएको परिकारहरू कम खानुपर्ने छ ।

बजारमा पाइने चिल्लो, सुकिलो र सफा देखिने खाद्य वस्तुहरूमा बढी विशाक्त प्रयोग भएको हुन सक्ने भएकाले त्यस्ता वस्तुहरूको प्रयोग गर्दा ख्याल गर्नसमेत उनले सुझाव दिए ।

त्यस्तै बोइलर कुखुराको मासु धेरै नखानसमेत उनले आग्रह गरे । बोइलर कुखुरामा धेरै एन्टीबायोटिक प्रयोग भएको र जेनेटिक मोडिफाइडसमेत भएकाले बोइलर कुखुराको मासुको कम प्रयोग गर्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै खसीबोकाको उपभोग पनि कम गर्न उनको सुझाव छ । कोकाकोला, फेन्टालगायतका पेय पदार्थको समेत कम प्रयोग गर्न उनले आग्रह गरे ।

दिनको एक दुई वटा कागतीको सेवन गर्ने, पुदिना, भाङ, तिललगायतका वस्तुबाट बनाइएको अचार तथा चटनी खाने बानीले रोगब्याधि कम गराउने उनले बताए ।

त्यस्तै धेरै प्रकारका मल प्रयोग भएका सागसब्जी, तरकारीहरूको प्रयोग नगर्नसमेत उनले सुझाव दिए । सादा खाना खान र शरीरभित्र कुनैपनि प्रकारको भार नपर्नेगरी खान पनि उनको सुझाव छ ।

शुद्ध पानी धेरै पिउने, गुर्जो, उमारेको जमरा, कागतीलगायतको सेवन गर्नु उपयुक्त हुने पनि उनले बताए ।

त्यसबाहेक नियमित व्यायाम गर्दासमेत शरीरमा फाइदा पुग्ने उनको भनाइ छ ।

योगा, खानपिन, आयुर्वेदका जडिबुटी र मनोविज्ञानका पक्षहरूमा सबैधन्दा धेरै ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

भाइरोलोजिस्ट डा. बाबुराम मरासिनीले दसैंको बेला सहर बजारबाट आफ्नो घरमा जाँदा विशेष सावधानी अपनाउनुपर्ने बताए ।

दसैंमा घर नजानभन्दा पनि घर गएपछि संक्रमणबाट जोगिनका लागि विभिन्न उपायहरू अपनाउन सकिने बताए ।

घरमा गएपछि परिवारका सदस्यसँग घुलमिल हुनभन्दा अलग्गै बस्नुपर्नेमा उनले जोड दिए ।

खाना खाँदा दूरी कायम गर्ने, दसैंमा टिका लगाउँदा खुल्ला ठाउँमा लगाउने, भीडभाड नगर्ने हो भने रोग लाग्नबाट बच्न र बचाउन सकिने डा. मरासिनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस