काभ्रेमा एकैदिन १ सय १० जना नयाँ संक्रमित थपिए, एक जना संक्रमितको मृत्यु

नौलो समाचार संवाददाता
२०७७ कार्तिक ७, शुक्रबार मा प्रकाशित ५१७ पटक पढिएको

काभ्रेमा एकैदिन १ सय १० जना नयाँ संक्रमित थपिए, एक जना संक्रमितको मृत्यु

कात्तिक ७, काभ्रे। काभ्रेमा आज एकैदिन १ सय १० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जुन संख्या हालसम्मकै उच्च रहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाले जनाए ।

त्यस्तै जिल्लामा आज एक जना कोरोना संक्रमितको मृत्यु भएको कार्यालयको जानकारी छ । कार्यालयका अनुसार बनेपा नगरपालिकाका ५६ वर्षीय पुरुषको शिर मेमोरियल अस्पतालमा उपचाररत संक्रमितको आज मृत्यु भएको हो । योसँगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

आज थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै बनेपा नगरपालिकाका रहेका छन् । बनेपामा मात्रै २८ जना महिला र २६ जना पुरुष, पनौती नगरपालिकामा ३ जना महिला र ५ जना पुुरुष, धुलिखेल नगरपालिकामा १४ जना महिला र १२ जना पुरुष, नमोबुद्ध नगरपालिकामा २ जना महिला र ४ जना पुरुष, मण्डनदेउपुर नगरपालिकामा २ जना महिला र ४ जना पुरुष, पाँचखाल नगरपालिकामा ५ जना पुरुष, बेथानचोक गाउँपालिकामा १ जना पुरुष, चौरीदेउराली गाउँपालिकामा १ जना पुरुष, रोशी गाउँपालिकामा २ जना पुरुष र खानीखोला गाउँपालिकामा १ जना पुरुष गरेर काभ्रेमा १ सय १० जना कोरोना संक्रमित थपिएको कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए ।

योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १४ सय ८१ पुगेको कार्यालयको विवरण छ । आजै २८ जना संक्रमित कोरोना संक्रमणमुक्त भएका छन् ।

हालसम्म ९ सय १५ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै जिल्लामा अहिले ५ सय ५१ जना सक्रिय संक्रमित रहेका छन् ।


प्रतिक्रिया दिनुहोस