बडादशैंको मुख्य दिन आज विजयादशमीः उत्तम साइत १०ः१९ बजे

नौलो समाचार संवाददाता
२०७७ कार्तिक १०, सोमबार मा प्रकाशित ७३७ पटक पढिएको
बडादशैंको मुख्य दिन आज विजयादशमीः उत्तम साइत १०ः१९ बजे

कात्तिक १०, काठमाडौं। दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।

घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान १०ः११ बजे रहेको जनाएको छ ।

टीकाप्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने १०ः१९ बजे उत्तम रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । विजयादशमी आफैंँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि उहाँले बताउनुभयो ।

“राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ, राज्य सञ्चालकले शुभसाइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ” धर्मशास्त्रविद् प्रा डा गौतमले भन्नुभयो ।

महानवमीका अवसरमा आइतबार हनुमानढोकास्थित तलेजु भवानी मन्दिर कोरोनाको त्रासका कारण नखुले पनि भौतिक दूरी कायम गरी सोमबार तुलजा भवानी यात्रा भने गरिने जनाइएको छ ।

तलेजु भवानीको मन्दिर वर्षमा एक दिन मात्र महानवमीका दिन खोल्ने प्रचलन थियो ।

समितिले दिएको साइतमा बिहान ८ः४७ बजे भवानी यात्रा शुरु गरिनेछ । भवानीलाई स्थिरासन भने बिहान ९ः४९ बजे नै गरिनेछ । यसैगरी खड्गयात्रा पनि सोमबार नै गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस