तिब्र गतिमा संक्रमण फैलिएपछि फ्रान्समा फेरि लकडाउन

नौलो समाचार संवाददाता
२०७७ कार्तिक १३, बिहिबार मा प्रकाशित १०५७ पटक पढिएको
तिब्र गतिमा संक्रमण फैलिएपछि फ्रान्समा फेरि लकडाउन

कात्तिक १३, एजेन्सी। फ्रान्समा फेरि लकडाउन भएको छ । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेपछि राष्ट्रपति इम्यानुएल म्याक्रोँले फ्रान्समा यो वर्ष दोस्रोपटक लकडाउनको घोषणा गरेका हुन् ।

कोरोना भाइरस महामारीको सुरुमा युरोपमा अति प्रभावित हुने मध्येको फ्रान्समा मार्चमा पहिलोपटक लकडाउन भएको थियो । त्यो बेला दुई महिना लकडाउन लागु भएको थियो ।

पछिल्लो समय महामारीको दोस्रो लहरबाट प्रभावित भएको फ्रान्सका राष्ट्रपति म्याक्रोँले टेलिभिजन सम्बोधन मार्फत शुक्रबारदेखि लागु हुने गरी पुनः लकडाउन गर्ने घोषणा गरेका हुन् ।

यो पटकको लकडाउन कम्तीमा नोभेम्बरको अन्त्यसम्म कायम रहने छ । लकडाउनमा मानिसहरुलाई अत्यावश्यक कामका लागि मात्रै घर बाहिर निस्कने अनुमति दिइने छ ।

रेस्टुरेन्ट, बारसहितका अत्यावश्यक भन्दा बाहिरका सेवा बन्द रहने छन्, तर विद्यालय र उद्योगहरु पनि खुला हुने छन् ।

फ्रान्समा पछिल्लो दिनमा कोभिडका कारण ज्यान गुमाउनेको संख्या अप्रिल यताकै धेरै भएको छ । दैनिक ३० हजार भन्दा बढी संक्रमित थपिने गरेका छन् ।

जर्मनीले पनि आपतकालीन रुपमा लकडाउन लागु गर्ने भएको छ । तर त्यहाँको लकडाउन फ्रान्सको भन्दा खुकुलो हुनेछ ।

फ्रान्स, जर्मनी, बेल्जियम, बेलायतसहित युरोपेली देशमा पछिल्लो समय पुनः संक्रमण तीव्र गतिमा बढिरहेको छ । लकडाउनको घोषणासँगै युरोपको वित्त बजारमा त्यसको सीधै प्रभाव देखिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस