किन खुलेन मलेसिया रोजगारी ? कहाँ भयो गडबढ ?

नौलो समाचार संवाददाता
२०७५ मंसिर २४, सोमबार मा प्रकाशित १०१९ पटक पढिएको
किन खुलेन मलेसिया रोजगारी ? कहाँ भयो गडबढ ?

काठमाडौँ । २०७५ साल जेठ २ गते अपरान्ह एकाएक पत्रकार सम्मेलन गरेर श्रममन्त्री गोकर्ण विष्टले मलेसिया रोजगारीको ढाट नहेटेसम्म र सिन्डिकेट नरोकिएसम्म मलेसियामा कामदार नपठाउने भन्दै सिन्डिकेटधारी संस्था खारेजीको घोषणा गरिदिए । त्यसै दिनदेखि बन्द भएको मलेसिया रोजगारीको ढोका ७ महिना पुग्न लाग्दा पनि खुल्न सकेको छैन ।

वार्षिक करिब १ लाख ५० हजार कामदार जाने गरेको देशमा एकाएक आएको अवरोधले केही समय ठूलै हलचल पैदा गर्यो । धेरै युवाहरू, मुख्यतः जो वैदेशिक रोजगारीका लागि तेस्रो मुलुक जान्छन्, उनीहरूको पक्षमा भएको यो निर्णयले एउटा नयाँ आशा जगायो ।

तत्कालीन समयमा मलेसिया जाने प्रक्रिया सुरु गर्नका लागि पनि एकजना कामदारले ५ वटा ढाटमा पैसा तिर्दै जानुपथ्र्यो । तत्कालीन समयमा माइग्राम्स, बायोमेट्रिक, आईएससी, ओएससी र भीएलएनका नाममा पैसा तिर्नुपथ्र्यो । एक कामदारले मलेसिया जाने प्रक्रिया पूरा गर्नका लागि प्रतिव्यक्ति १८ हजारभन्दा बढी रकम तिर्नु परिरहेको थियो ।

जबकि मलेसिया जाने भिसा पाउन लाग्ने शुल्क भने जम्मा ७ सय नेपाली रूपैयाँ मात्रै थियो ।

मलेसिया रोजगारीका लागि अधिक खर्च र सिन्डिकेट रहेको थाहा पाउनेबित्तिकै श्रममन्त्री गोकर्ण विष्टले सिन्डिकेटधारी संस्था खारेजी गर्दै नयाँ प्रक्रिया सुरु गर्ने घोषणा गरिदिए ।

यसैबीचमा मलेसिया सरकारले यो विषयलाई गम्भीर रूपमा लिँदै नेपाली कामदारको हितमा हुनेगरी श्रम सम्झौता गर्न तयार भयो र कात्तिक १२ गते नेपाल र मलेसियाबीच श्रम सहमति भयो ।

यो सहमतिसँगै मलेसिया जाने कामदारको सम्पूर्ण खर्च मलेसियास्थित रोजगारदाता कम्पनीले तिर्ने र म्यानपावर व्यवसायीलाई दिने कमिसन पनि रोजगारदाताबाटै भराउने गरी सहमति भयो ।

कात्तिक १२ गते नेपाल र मलेसियाबीच यो सहमति भएलगत्तै मलेसिया रोजगारी खुल्ने धेरैको अपेक्षा थियो ।

तर कात्तिक १२ गते श्रम सहमति भए पनि मलेसियाको रोजगारी खुल्न भने सकने । किनभने सहमतिमा आधारभूत कुरा उल्लेख गरिन्छ । तर त्यो सहमति कार्यान्वयनका लागि प्राविधिक विषय टुङ्गो लगाउनुपर्ने हुन्छ । त्यही प्राविधिक विषयको टुङ्गो नलाग्दा मलेसिया रोजगारी अझै खुल्न सकेको छैन ।

नेपाल र मलेसियाबीच भएको सहमतिमा माइग्राम्स हटाउने भनिएको छ भने अन्य प्रक्रियाका लागि नयाँ व्यवस्था गर्ने उल्लेख छ । तर नयाँ व्यवस्था गर्नका लागि संस्था छनोटदेखि सिस्टम रिभ्यु गर्ने कुरामा केही प्राविधिक समस्या देखिएका छन्, जसको कारण मलेसियाको रोजगारी अझै बन्द छ ।

प्रतिक्रिया दिनुहोस