काभ्रेमा बिदेशबाट फर्किएका ३५३ जना सम्पर्कमा, सबैभन्दा धेरै पनाैतीका

नौलो समाचार संवाददाता
२०७६ चैत्र २२, शनिबार मा प्रकाशित ८१५५ पटक पढिएको
काभ्रेमा बिदेशबाट फर्किएका ३५३ जना सम्पर्कमा, सबैभन्दा धेरै पनाैतीका

चैत्र २२, काभ्रे । विश्वभर फैलिएको कोरोनाको कहरसँगै काभ्रे जिल्लामा मात्र ३५३ जना वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुलाई सम्पर्कमा ल्याईएको छ ।

फागुन १६ देखी चैत १२ गतेसम्म जिल्लाका १३ वटा स्थानीय तहले विदेशबाट फर्किएका ३५३ जनालाई सम्पर्कमा ल्याएका हुन ।

वैदेशिक रोजगारीबाट फर्किएकाबाट कोरोनाको त्रास बढेको जनगुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले जिल्लाका १३ वटै स्थानीय तहलाई विदेशबाट फर्किएकाको खोजी गर्न पत्रचार गरेको थियो । विदेशबाट फर्किएर आएका भएपनि कोरोना भाइरसको परीक्षणका लागि नगएपछि जिल्ला प्रशासन कार्यालयले विदेशबाट फर्किएको खोजी गर्न स्थानीय तहलाई पत्रचार गरेको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले सबै भन्दा बढी पनौती नगरपालिकामा विदेशबाट फर्किएका व्यक्तिहरु रहेको जानकारी दिए । उनका अनुसार पनौती नगरपालिकाबाट १०१ जना विदेशबाट फर्किएका छन ।

त्यस्तै बनेपा नगरपालिकामा ४० जना, मण्डनदेउपुर नगरपालिकामा ३७ जना, पाँचखाल नगरपालिकामा ३६ जना, धुलिखेल नगरपालिका २० जना र नमोबुद्ध नगरपालिकामा १५ जनालाई सम्पर्कमा ल्याइएको छ । त्यस्तै तेमाल गाउँपालिकामा १९ जना, भुम्लु गाउँपालिकामा १८ जना, रोसी गाउँपालिकामा १७ जना विदेशबाट फर्किएका सम्पर्कमा ल्याइएको छ । बेथानचोक गाउँपालिकामा १६ जना, महाभारत गाउँपालिकामा १५ जना, खानीखोला गाउँपालिकामा ११ जना र चौँरीदेउराली गाउँपालिकामा आठ जना स्थानीय तहले सम्पर्कमा ल्याएका छन ।

झा.का अनुसार मण्डनदेउपुर नगरपालिका आठ जना क्वारेन्टाइनमा बसेका बाहेक अन्य होम सेफ क्वारेन्टाइनमा बसेको छन । धुलिखेल अस्पतालका नर्सहरुले उनीहरुको अवस्थाका बारेमा जानकारी लिइरहेको छ, स्वास्थ्य प्रमुख झाले थप्दै, हामीले उनीहरुको नम्बर लिएका छौँ । जिपीएस ट्रयापिङ मार्फत कतै हिडेमा तत्काल फोन गर्छौ र हिड्न दिदैँनौ, भने । विदेशबाट फर्किएको जनप्रतिनिधि, स्वास्थ्य कर्मीले समेत नियमित जानकारी लिइरहेको जनाएका छन ।

प्रतिक्रिया दिनुहोस