इटालीमा आशाको पहिलो किरण : गम्भीर बिरामीको संख्या घट्यो

नौलो समाचार संवाददाता
२०७६ चैत्र २३, आईतबार मा प्रकाशित ७०५ पटक पढिएको
इटालीमा आशाको पहिलो किरण : गम्भीर बिरामीको संख्या घट्यो

चैत २३, काठमाडौं । विश्वभर कोरोनाको महामारी छ । कोरोना संक्रमणबाट इटालीमा सबैभन्दा धेरै जनाको मृत्यु भएको छ । इटलीका अधिकारीहरुका अनुसार शनिबार एकैदिन ६८१ जनाको मृत्यु भएको छ र मृतकको कूल संख्या १५ हजार ३६२ जना पुगेको छ ।

तर लामो समयपछि शनिबार इटालीमा आशाको पहिलो किरण देखिएको छ । किनभने इटलीमा कोरोना संक्रमितहरुको संख्या पहिलो पटक घटेको पाइएको छ ।

इटलीका जनताको सुरक्षा गर्ने निकाय सिभिल प्रोटेक्सन डिभिजन (नागरिक सुरक्षा विभाग)का प्रमुख एन्जेलो बोर्रेलीले सञ्चारकर्मीलाई दिएको जानकारीअनुसार अस्पतालमा गम्भीर अवस्थाका बिरामीहरुको संख्या शनिबार ७४ जनाले कमी आएको छ । अघिल्लोपटक अस्पतालहरुमा गम्भीर अवस्थाका बिरामीको संख्या ४ हजार ६८ थियो तर शनिबार घटेर ३ हजार ९ सय ९४ भएको बोर्रेलीले बताएका छन् ।

उनले भनेका छन्, यो हाम्रोलागि धेरै महत्वपूर्ण तथ्यांक हो । किनभने इटलीमा आपतकालीन स्थिति सुरु भएपछि यस्तो भएको पहिलो पटक हो । यो किन महत्वपूर्ण हो भने यसबाट हाम्रा अस्पतालहरुमा धेरै भए पनि राहत मिल्छ । उनीहरुले सास फेर्ने मौका पाउँछन् ।’

इटलीको वैज्ञानिक परिषदका प्रमुख फ्रान्को लोकतेलीले पनि गम्भीर अवस्थाका बिरामीहरुको संख्यामा कमी आउनु राम्रो संकेत भनेका छन् । तर यसलाई इटलीले खतराको अवस्थालाई पार गर्यो भनेर भन्न भने नमिल्ने उनले बताएका छन् । उनले भनेका छन्, ‘कोरोना भाइरस नियन्त्रणका लागि हामीले जुन तरिका अपनाएका छौं, त्यो प्रभावकारी हुँदै गएको चाहिँ हो ।’

इटालीमा कोरोना भाइरसको पहिलो संक्रमण लोम्बार्डी भन्ने स्थानमा देखिएको थियो । लोम्बार्डीबाट पूरै इटालीभर संक्रमण फैलियो । लोम्बार्डी अहिले पूर्णरुपमा प्रभावित भएको छ । पूरै इटालीभरका संक्रमित संख्याको ८५ प्रतिशत संक्रमित लोम्बार्डीमै छन् । धेरैजसो मृतक पनि लोम्बार्डीकै हुन् ।

शनिबार २ हजार ८ सय ८६ जना नयाँ संक्रमित थपिएका छन् । हाल संक्रमितको कूल संख्या ८८ हजार २ सय ७४ पुगेको छ । २० हजार ९ सय ९६ जना विरामी उपचारपछि निको भएका छन् ।

शनिबारबाट मानिसहरुलाई किनमेलका लागि घर बाहिर निस्किन दिइएको छ । तर घर बाहिर निस्किँदा मास्क लगाउन अनिवार्य गरिएको छ । यो नयाँ नियम ५ अप्रिल आइतबारदेखि १३ अप्रिलसम्म जारी हुने छ ।

उत्तरी इटलीका शहर वेनेतो र आल्टो एडिगेका मानिसहरुलाई पनि बजार या शपिङ सेन्टरमा किनमेल गर्न जाँदा मास्क लगाउन अनिवार्य गरिएको छ । यसअघि यी क्षेत्रमा १५ अप्रिलसम्म घर बाहिर हिँडडुल गर्न र मोटरसाइकल चलाउन रोक लगाइएको थियो । सबै पर्यटकीय स्थल र होटलहरुलाई बन्द गरिएको थियो । सबै प्रकारका निर्माण कार्यमा पनि रोक लगाइएको थियो ।

इटलीमा कोरोना संक्रमित फेला पर्नुअघि नै स्वास्थ्य मन्त्रालयले टास्क फोर्स गठन गरेको थियो । टास्क फोर्स कोरोना भाइरसविरुद्ध लड्नका लागि बनाइएको थियो । इटली युरोपेली युनियनको पहिलो यस्तो देश हो, जसले यहाँ आफ्ना विमान सेवालाई प्रतिबन्ध गरेको थियो ।

अहिलेसम्म पूरै इटलीमा लकडाउनको अवस्था छ । लोम्बार्डीमा अझै कडा प्रतिबन्ध लगाइएको छ । लकडाउन उल्लंघन गर्नेहरुलाई साढे २ लाख रुपैयाँसम्म जरिवाना गरियो । तर पनि कोरोना संक्रमण रोकथाम गर्न इटलीले सकेन । यद्यपि स्वास्थ्य विभागका कर्मचारीहरुको बलमा संक्रमितको उपचार जारी राखियो । तर संक्रमित बढ्दै गएपछि अस्पताल अभाव भयो । स्वास्थ्य र सुरक्षाका उपकरण कमी हुँदै गयो ।

इटालीमा आधिकारिक रुपमा कोरोना भाइरस संक्रमणको सुरुवात २० फेब्रुअरीबाट भएको थियो ।

प्रतिक्रिया दिनुहोस