चैत २, एजेन्सी । कोरोना भाइरस विरुद्धको खोप बनाउन विश्वभरका वैज्ञानिकहरु लागि परेको र अहिले सम्भावित ७० वटा खोपमा काम भइरहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । डब्लुएचओका अनुसार त्यसमध्ये तीनवटा मानवीय परीक्षणको चरणमा रहेका छन् ।
सम्भावित खोपको सूचिमा अग्रस्थानमा रहेको बेइजिङ्ग इन्स्टिच्युड अफ बायोटेक्नोलोजी र हङकङको क्यानसिनो बायोलोजिक्सले निर्माण गरेको गरेको खोप अहिले दोस्रो चरणको परीक्षणमा छ ।
अरु दुई खोपहरु पनि अहिले मानवीय परीक्षणको क्रममा रहेका छन् । यी खोपहरु अमेरिकी औषधि उत्पादक कम्पनी इनोविओ र मोडेर्नाले निर्माण गरेका डब्लुएचओलाई उद्धृत गर्दै ब्लुमबर्गले जनाएको छ ।
छोटो अवधिमै विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसका कारण अहिलेसम्म एक लाख १९ हजार भन्दा बढीको ज्यान गएको छ । यस्तै संक्रमितको संख्या विश्वभर २० लाख भन्दा बढी पुगेको छ ।
महामारी तीव्र गतिमा फैलिएका कारण औषधि उत्पादक कम्पनीहरु खोपको खोजीमा तीव्र गतिमै लागिपरेका हुन् । खोपहरु आउँदो वर्षको सुरुमा उपलब्ध हुने अपेक्षा छ ।
सामान्यतया कुनै पनि खोपले पूर्णता पाउन १० देखि १५ वर्ष लाग्ने भए पनि कोरोना भाइरसविरुद्धको खोप अति तीव्र गतिमा निर्माण गर्ने तयारी भइरहेको छ ।
मोडेर्नाले बनाएको खोपलाई गएको मार्चमा जनावरमा गर्नु पर्ने परीक्षणको प्रक्रियालाई थाँती राखेर मानवीय परीक्षणका लागि अमेरिकी नियामक निकायले स्वीकृति दिएको थियो ।
यस्तै फिजर र सानोफीसहितका कम्पनीले बनाएका खोपहरु पनि अहिले प्रिक्लिनिकल ट्रायलको चरणमा पुगेका छन्।
अक्सफोर्ड विश्वविद्यालयकी भ्याक्सिनोलोजी प्रोफेसर सारा गिल्बर्टले आफ्नो समूहले बनाइरहेको खोप यही वर्षको अन्त्यसम्म उपलब्ध हुने दाबी गरेकी छन् ।
प्रतिक्रिया दिनुहोस