बैशाख १६, काठमाडौं । आन्तरिक विवाद चुलिएका समय सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक नै अनिश्चित बनेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच हिजो भएको छलफलमा आज सचिवालय बैठक बस्ने र सो बैठकले स्थायी समिति बैठकको मिति तय गर्ने सहमति भएको थियो । यद्यपि सचिवालय बैठक बारे अधिकांश सदस्यहरुले कुनै खवर नआएको बताएका छन् ।
तात्कालिन माओवादी पक्षलाई बेवास्था गर्दै अघि बढ्ने गरी प्रधानमन्त्री ओली र बरिष्ठ नेता नेपालबीच भएको सहमति मान्य नभएकाले आज बस्ने भनिएको बैठक नै अन्योलमा रहेको सचिवालयका एक सदस्यको जिकीर छ ।
प्रधानमन्त्री ओलीले पार्टीमा छलफल नै नगरी राजनीतिमा दूरगामी प्रभाव पार्ने दुई वटा फरक अध्यादेश ल्याएको भन्दै पार्टीमा असन्तुष्टि बढेपछि सचिवालय र स्थायी समिति बैठकको माग भएको हो । यद्यपि प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता भएपछि बैठकको औचित्य पनि सकिएको तर्क गर्दै आउनु भएको थियो ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले बरिष्ठ नेता नेपाल पक्षलाई आफुतिर तान्न छलफल तीब्र बनाउनु भएको छ । हिजोमात्र काठमाडौंको वालुवाटार र कोटेश्वर तथा ललितपुरको खुमलटारमा त्रिपक्षीय छलफल भएको थियो । नेताहरुबीच केन्द्र सरकारमा रहेका मन्त्रीहरुको हेरफेर गर्ने, प्रदेश एक र ३ मा मुख्यमन्त्री परिवर्तन गर्नेसम्मका छलफल जारी छन् ।
अध्यक्ष ओलीले प्रधानमन्त्रीसम्मको प्रस्ताव गर्दै समर्थनका लागि आग्रह गरेपनि बरिष्ठ नेता नेपालले बिगतमा भएका सहमति समेत कार्यान्वयन नभएकाले बैठकमै छलफल गर्ने बताउदै आउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस