लकडाउनले चिया क्षेत्रमा लाखौँ घाटा : न श्रमिकलाई तलब, न त चिया नै विक्री

नौलो समाचार संवाददाता
२०७७ अषाढ १८, बिहिबार मा प्रकाशित १२११ पटक पढिएको
लकडाउनले चिया क्षेत्रमा लाखौँ घाटा : न श्रमिकलाई तलब, न त चिया नै विक्री

असार १८, इलाम । मुख्य सिजनमै बन्दाबन्दी भएपछि चिया क्षेत्रले लाखौँको घाटा व्यहोर्नु परेको छ । चियाकै राजा ‘पहिलो टिपाइ’ बेच्ने समयमा कोरोनाका कारण बन्दाबन्दी भएपछि एकातिर किसानले चिया टिपेर प्रशोधित क्षेत्रसम्म पुर्‍याउन सकेनन् भने अर्कातिर उद्योगमा प्रशोधन गरिएको चिया पनि बजारमा पुर्‍याउन नसक्दा समस्या भएको छ ।

विशेषगरी चैतको दोस्रो साताबाट चियाको ‘पहिलो टिपाइ’ शुरु हुन्छ । यो चियाको अन्य सिजनको भन्दा गुणस्तरीय हुने भएकाले महँगोमा विक्री हुन्छ तर यस वर्ष भने सोही समयमा बन्दाबन्दी भएपछि गुणस्तरीय चिया टिप्न सकिएन ।

गुणस्तरीय चिया नै प्रशोधन गर्न नसकिएपछि लाखौँको घाटा व्यहोर्नु परेको इलाम नगरपालिका–४ को जसवीरे चिया प्रशोधन केन्द्रका सञ्चालक सरद सुब्बा बताउँछन् । मुख्य सिजनमै उद्योग बन्द गर्नु पर्ने भएपछि तेस्रो मुलुकबाट चियाको माग आए पनि पठाउन नसकिएको सुब्बाको गुनासो छ ।

‘हामी चीनलगायतका तेस्रो मुलुकमा तयारी चिया पठाउछौँ तर यो वर्ष अन्तरराष्ट्रिय बजार ठप्प हुँदा अझैसम्म पनि पठाउन सकिएको छैन’, सुब्बाले भने, ‘चिया किनेर प्रशोधन त गरियो तर विक्री नहुँदा किसान र श्रमिकलाई दिने रकमसमेत छैन ।’ उनका अनुसार लकडाउनको समयमा चिया विक्री त भएन नै श्रमिक र किसानलाई हातमुख जोड्ने रकमको समेत समस्या पर्‍यो । त्यही सिजनमा चियाको भुक्तानी पनि दिन नसक्दा धेरै चिया किसान–श्रमिक चिढिएको सुब्बाको भनाइ छ ।

पछिल्लो समय चिया विक्री हुन नसकेपछि केही दिन उद्योग नै बन्द गर्नुपर्दा घाटा व्यहोर्नु परेको सूर्योदय नगरपालिकास्थित गोर्खा टी स्टेटका प्रमुख उदय चापागाईँले बताए । विभिन्न संस्था र व्यक्तिको सहयोगले प्रशोधन उद्योग खुले पनि बजारमा चिया पुर्‍याउन भने अझै समस्या पर्ने गरेको चापागाईँको भनाइ छ ।

‘एक चोटिको चिया चाहिँ गइसक्यो । लकडाउनकै समयमा भारतले चिया भन्सारमै रोकिदिएपछि पनि जान ढिला भयो’, चापागाईँले भने, ‘तर अहिले अवस्था सामान्य भइसक्यो ।’

उनले चिया बजारसम्म नपुगे पनि आफूले श्रमिक र किसानलाई पारिश्रमिक र चियाको मूल्य भने दिँदै गरेको जिकिर गरे । बन्दाबन्दीको चपेटामा परेका बेला श्रमिक र किसानको हातमुख जोड्ने वस्तु चियासमेत विक्री नहुँदा समस्या आउन सक्ने भएकाले रकम भुक्तानी गरिसकेको उनको भनाइ थियो ।

‘धेरै उद्योगले चिया विक्री भएपछि मात्र रकम दिने भन्दै उधारोमा चिया लिइरहेका छन् तर किसानलाई खाद्य संकट आउन सक्छ भनेर मैले चाहिँ सबैलाई दिइसकेको छु,’ उनले भने । यस वर्ष बन्दाबन्दीका कारण पहिलो सिजनमा करीब ६० लाख घाटा भएको केन्द्रीय चिया सहकारी संघका महासचिव रविन राईको भनाइ छ । बन्दाबन्दीले चिया उत्पादित जिल्लामध्ये तराई क्षेत्रका जिल्लामा चियामा बढी घाटा व्यहोर्नु परेको महासचिव राईले बताए ।

प्रतिक्रिया दिनुहोस