असार १९, काभ्रे । सरकारले घोषणा गरेको लकडाउनको १ सय दिन बितिसक्यो । सरकारले लकडाउनबारेमा गरेको पछिल्लो निर्णयसँगै लकडाउन खुकुलो गरिएकाले सडकमा सवारी बाक्लै रुपमा गुडेको देखिन्छ । लकडाउन खुकुलो भएपनि सवारी चेकजाँचलाई भने ट्राफिक प्रहरीेले निरन्तरता दिइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
सवारी चेकजाँचकै क्रममा पछिल्लो समय लकडाउन उल्लंघन गर्नेको संख्या बृद्धि हुनुको साथै ट्राफिक नियमको पालना समेत नगरेको पाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख बिशाल तामाङले बताए । उनका अनुसार लकडाउन उल्लंन गर्नेको सङ्ख्या बृद्धि भएसँगै राजश्व संकलनमा पनि बृद्धि भएको छ ।
लकडाउनको सय दिनसम्ममा जिल्लामा अनावश्यक रुपमा गुडेका २३ सय ५० सवारीलाई प्रहरीले नियन्त्रणमा लिइएको कार्यालयको विवरणमा उल्लेख छ । नियन्त्रणमा लिएका सवारी दिनभर प्रहरी कार्यालयको नियन्त्रणमा रहने र साँझ ट्राफिक नियम अनुसार १ हजार रुपैँया जरिवानापश्चात सवारी छोड्ने कानुनी प्रावधान रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख बिशाल तामाङले बताए । लकडाउन उल्लंघन गरेका उक्त सवारीबाट कार्यालयले २० लाख ४ हजार राजश्व संकलन गरेको उनले जानकारी दिए ।
कार्यालयको तथ्याङक अनुसार लकडाउनको सय दिनमा प्रहरीले नियन्त्रणमा लिएको ९ सय ४७ ट्रकबाट ८ लाख ८६ हजार, ४ वटा बसबाट २५ सय, ३१ वटा कार/जिप/भ्यानबाट १६ हजार ५ सय र १३ सय ६८ मोटरसाइकलबाट १० लाख ९९ हजार राजश्व संकलन गरेको कार्यालयको विवरणमा उल्लेख छ ।
चैत्र ११ देखि मसान्त सम्ममा लकडाउन उल्लंघन गर्ने २ सय ५० सवारीबाट कार्यालयले १ लाख ७७ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । कार्यालयका अनुसार वैशाख महिनामा नियन्त्रणमा लिएका ४ सय सवारीबाट ३ लाख ६१ हजार ५ सय रुपैँया संकलन भएको थियो ।
त्यस्तै जेठ महिनामा १ हजार ९७ सवारीबाट ९ लाख ५४ हजार रुपैँया राजश्व संकलन भएको कार्यालयले बताएको छ । तुलनात्मक रुपमा हेर्दा जेष्ठ महिनामा धेरै सवारी नियन्त्रणमा परेको देखिन्छ । असार १७ गतेसम्ममा नियन्त्रणमा लिइएका ६ सय ३ सवारीबाट ५ लाख ११ हजार ५ सय रुपैँया संकलन भएको कार्यालयको विवरणमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस