ला लिगामा मेस्सीको नयाँ कीर्तिमान

नौलो समाचार संवाददाता
२०७७ अषाढ २८, आईतबार मा प्रकाशित ७२९ पटक पढिएको
ला लिगामा मेस्सीको नयाँ कीर्तिमान

असार २८, एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले नयाँ कीर्तिमान बनाएका छन् । उनले ला लिगाको इतिहासमा एक सिजनमा २० गोल र २० असिस्ट गर्ने पहिलो खेलाडीको कीर्तिमानी बनाएका छन् ।

उनले शनिबार राति भालाडोलिडसँगको खेलमा गोलका लागि एक सहायता गरेसँगै यो कीर्तिमान बनाएका हुन् । भालाडोलिडविरूद्धको खेलमा बार्सिलोनाले १(० गोलको जित निकाल्दा अर्थुरो भिडालका लागि असिस्ट गरेका थिए ।

अर्जेन्टिनी सुपरस्टार मेस्सी आफ्ना पूर्व टिममेट जाभिपछि ला लिगामा २० असिस्ट गर्ने पहिलो खेलाडी हुन् । यसअघि सन् २००८/०९ को सिजनमा जाभिले २० असिस्ट गरेका थिए । तर, हालसम्म कुनै पनि खेलाडीले स्पेनिस ला लिगामा २० वा सो भन्दा बढी गोलसँगै त्यस्तो उपलब्धि हासिल गरेका छैनन् ।

यसअघि थिएरी हेन्रीले २४ गोल गर्दै २० असिस्ट गरेका थिए । उनले सन् २००२/०३ को प्रीमियर लिग सिजनमा आर्सनलका लागि २० सहायता गरेका थिए । उनी युरोपको शीर्ष पाँच लिगमा यो उपलब्धि हाँसिल गर्ने पहिलो खेलाडी हुन भने ३३ वर्षीय मेस्सी दोस्रो खेलाडी हुन् ।

मेस्सी हाल २२ गोल गर्दै ला लिगाको शीर्ष गोल कर्ताको पहिलो स्थानमा छन् । उनलाई रियल मड्रिडका करिम बेन्जेमाले पछ्याइरहेका छन् । बेन्जेमा १८ गोलसहित दोस्रो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस