नेपाललाई कोरोना भ्याक्सिन उपलब्ध गराउन रुस तयार, कार्तिक अन्तिममा बजारमा आउने

नौलो समाचार संवाददाता
२०७७ भाद्र २, मंगलबार मा प्रकाशित ४५६ पटक पढिएको
नेपाललाई कोरोना भ्याक्सिन उपलब्ध गराउन रुस तयार, कार्तिक अन्तिममा बजारमा आउने

भदौ २, काठमाडौं। नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकभले कोभिड १९ (कोरोना) को भ्याक्सिन (खोप) उपलब्ध गराउन रुस तयार रहेको बताएका छन्।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनासँग मंगलवार सिंहदरवारमा शिष्टचार भेट गर्दै राजदूत नोभिकभले भ्याक्सिन तयार भइसकेको र नोभेम्बरबाट बजारमा आउने बताए।

रसियाले विकास गरेको कोरोनाको भ्याक्सिन विश्वभरबाट अडर आउन थालिसकेको बताउँदै उनले नेपालले चाहेमा छिट्टै उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता जनाए। ‘रसियाले तयार पारेको भ्याक्सिन नोभेम्बरमा विश्व बजारमा आउनेछ। नेपाललाई प्रथामिकतामा राखेर उपलब्ध गराउन सकिन्छ,’ राजदूत नोभिकभले भने।

भेटमा अध्यक्ष तिमिल्सिनाले विश्व आक्रान्त बनाएको कोभिड १९ को भ्याक्सिनको रुसमा हालै सफल परीक्षण भएको समाचार सुन्न पाउँदा खुसी लागेको बताए। तिमिल्सिनाले रुसद्वारा सफल परीक्षण भएको भ्याक्सिनले छिट्टै विश्व स्वास्थ्य संगठनबाट मान्यता पाउने विश्वास पनि व्यक्त गरे।

भेटमा दुई देशको कूटनीतिक सम्बन्ध, संसदीय सम्बन्ध, कोरोना प्रभाव, पूर्वाधार विकास, व्यापार र लगानीको साझेदारी लगायतका विषयमा पनि कुराकानी भएको राष्ट्रियसभा अध्यक्षको सचिवालयले जनाएको छ।

तिमिल्सिनाले रसियाले चिकित्सा, इन्जिनियरिङ, औद्योगिक जस्ता क्षेत्रहरूमा सीपयुक्त जनशक्ति विकासमा पुर्‍याउँदै आएको सहयोग तथा यी क्षेत्रहरूमा दिँदै आएको छात्रवृत्तिले नेपाली विद्यार्थीहरू लाभान्वित भएको बताए।

नेपाल र रसियाको संसदीय प्रतिनिधि मण्डलबीच समय-समयमा हुँदै आएका भ्रमणको स्मरण गर्दै अध्यक्ष तिमिल्सिनाले दुई देशका संसदीय मैत्री समूहद्वारा दुई देशको संसद र जनता बीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरे।

उनले दुई मुलुकको हित प्रबर्द्धन हुने गरी द्विपक्षीय र बहुपक्षीय तहमा साझेदारी आवश्यक रहेको बताउँदै नेपालमा विशेषगरी उर्जा, कृषि, पर्यटन र पूर्वाधार विकासका क्षेत्रमा व्यापार र लगानीको पर्याप्त सम्भावना रहेको जानकारी गराए।

प्रतिक्रिया दिनुहोस