स्वास्थ्यकर्मीलाई दुर्व्यवहार : भोलि आफैँ सङ्क्रमित भए कसले गर्ने उपचार !

दीपा तिमल्सिना
२०७७ भाद्र ७, आईतबार मा प्रकाशित १९१० पटक पढिएको
स्वास्थ्यकर्मीलाई दुर्व्यवहार : भोलि आफैँ सङ्क्रमित भए कसले गर्ने उपचार !

भदौ ७, काठमाण्डाै। कोरोना भाइरसको सङ्क्रमण फैलिएसँगै सङ्क्रमितलाई मात्र होइन, उपचारमा खटिने डाक्टर र स्वास्थ्यकर्मीमाथि पनि दुर्व्यवहार बढ्न थालेको छ । स्वास्थ्यकर्मीमाथि समाजले गर्ने दुर्व्यवहार बढेपछि स्वास्थ्य मन्त्रालयलाई उनीहरुको सुरक्षा र राख्ने ठाउँको समस्या हुन थालेको छ ।

कोरोना सङ्क्रमितसँग स्वास्थ्यकर्मीको प्रत्यक्ष भेटघाट हुने र यसले कोरोना सर्न सक्ने भ्रमका कारण उनीहरुमाथि लाञ्छना लगाउने र दुर्व्यवहार गर्ने घटना बढेको हो । केही दिनअघि कोेरोना सङ्क्रमित चितवनका एक जना डाक्टरको घरमा ‘यो सङ्क्रमितको घर हो’ भन्दै स्थानीय बासिन्दा ब्यानर टाँस्न पुगेका थिए । पछि डाक्टरले नै सम्झाइबुझाइ गरेपछि उनीहरुले त्यो गल्ती गरेनन् । फर्किए ।

अहिले सङ्क्रमित ती डाक्टरको परीक्षण रिपोर्ट नेगेटिभ आइसकेको छ । होम आइसोलेशनमा नै बसेका उहाँ कोरोना मुक्त भइसक्नुभयो । चितवनमा डाक्टरलाई अपमानित गरिएको घटना सेलाउन नपाउँदै काठमाण्डौको बानेश्वरमा डाक्टर र अरु स्वास्थ्यकर्मी बसेको होस्टल घेराउ गरिएको घटना सार्वजनिक भएको छ । बानेश्वरको सिभिल अस्पतालका स्वास्थ्यकर्मीहरूलाई राखिएको होस्टल स्थानीय बासिन्दाले घेराउ गरेका हुन् ।

स्थानीय बासिन्दाले स्वास्थ्यकर्मी कोरोनाको सङ्क्रमणको स्रोत हुने भन्दै आफ्नो घर र घर वरिपरि प्रवेशमा नै रोक लगाउन थालेका छन् । ‘दिनरात उपचारमा खटिने स्वास्थ्यकर्मीमाथि यति तुच्छ व्यवहार गरिन्छ कि त्यो देखेर र भन्ने कुनै शब्द नै छैन’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारी प्रश्न गर्नुहुन्छ, ‘स्वास्थ्यकर्मीमाथि समाज यति धेरै क्रुर किन ?’

बिरामीको ज्यान बचाउने डाक्टरलाई धेरैले भगवान पनि भन्छन् । तर कोरोना कहर बढेसँगै भगवानको रुपमा हेरिँदै आएका स्वास्थ्यकर्मीलाई हेर्ने धेरैको आँखा बदलिएको छ । दिनरात उपचारमा आफ्नो स्वास्थ्यलाई दाउमा रोखेर उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई समाजले शत्रु जस्तो व्यवहार गर्न थालेको छ । एक पटक सोचौँ त, समाजको यो व्यवहारले स्वास्थ्यकर्मीलाई कस्तो चोट पुगेको होला !

दिनहुँ बढ्दैछ स्वास्थ्यकर्मीको निराशा

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारी कोरोना सङ्क्रमण बढेसँगै स्वास्थ्यकर्मीमा मानसिक तनाव बढेको बताउनुहुन्छ । उहाँका अनुसार हरेक दिन स्वास्थ्य मन्त्रालयमा सुरक्षा र बासको व्यवस्था मिलाउन भन्दै स्वास्थ्यकर्मीको गुनासो आउने गर्छ ।

शिक्षित व्यक्तिको बाहुल्यता र सम्पन्न शहर भनिए पनि काठमाण्डौ उपत्यकामा नै यस्तो समस्या बढिरहेको उहाँ बताउनुहुन्छ । उपत्यका बाहिर त झन् बढी समस्या छ । भाडामा बस्नेलाई मात्रै होइन, अहिले आफ्नै घरमा पनि स्वास्थ्यकर्मीले बास पाउन मुश्किल छ । भाडा बसेकालाई घरबेटीले ताला लगाइदिने, घरै भएकालाई परिवारका सदस्य र आफन्तले काम छोड्न दबाब दिने जस्ता मानसिक समस्या स्वास्थ्यकर्मीले झेल्नु परेको छ  ।

स्वाथ्यकर्मीसँग जम्काभेट भइहाले पनि अनुहारमा हेर्दै नहेर्ने, छिः छिः र दूरदूर गर्ने प्रवृत्ति बढ्दै गएकाले उनीहरुको सुरक्षामा नै चुनौती बढेको डा. अधिकारी बताउनुहुन्छ ।

व्यक्तिको व्यवहार बदल्नुपर्छ

नेपालको कानुनले कसैलाई गालीगलौज, दुर्व्यवहार र तिरस्कार गर्न रोकेको छ । त्यसमाथि डाक्टर र स्वास्थ्यकर्मीमाथि त दुर्व्यवहार र गालीगलौज गर्नै हुँदैन । महामारीको चुनौतीमा बिरामीको उपचारमा खटिने डाक्टर र स्वास्थ्यकर्मीलाई त हौसला र आत्मबल बढाउनुपर्ने खाँचो छ ।

तर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सङ्क्रमितमाथि सामाजिक तिरस्कार बढेको छ । मान्छेलाई मान्छेले विभेद गर्नु हुँदैन भन्ने कुरा समाजले बुझ्न नै नसकेको वा बुझ्नै नचाहेको राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारी बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘यस्तो बेला अपमान होइन, माया, स्नेहको खाँचो भएकाले बिरामी र उपचारमा खटिनेलाई माया, सद्भाव र स्नेह बाँड्नु पर्छ । यसो गरेमा बिरामी छिट्टै ठिक हुन्छन् ।’उहाँले दुर्व्यवहार गर्ने विरुद्ध उजुरी परे कारबाही हुने पनि बताउनुभयो । विदेशबाट आएकाहरु र स्वास्थ्य तथा सुरक्षामा खटिनेहरुले कोरोना भाइरसको सङ्क्रमण फैलाए भन्नु गलत भएकाले यस विरुद्ध आवाज उठाउन उहाँको आग्रह छ ।

कोरोना सङ्क्रमण हुनु कसैको दोष होइन । तर केही केही ठाउँमा सङ्क्रमित र सङ्क्रमितको स्वास्थ्य सुरक्षामा खटिनेलाई अपराधीको जस्तो व्यवहार गरिएको छ । यस्तो व्यवहार कानुनी रुपमा दण्डनीय त छँदैछ, मानवीय रुपमा पनि निन्दनीय छ ।

कोरोनाको उपचारमा खटिने डाक्टर र स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्नुअघि सबैले सोच्नुपर्छ, भोलि आफैँ सङ्क्रमित भएमा आज दुर्व्यवहार भोग्ने डाक्टर र स्वास्थ्यकर्मीले कसरी उपचार गर्लान् ?

प्रतिक्रिया दिनुहोस