एकै दिनमा ११ जनाको मृत्यु, थप ८८५ जना सङ्क्रमित

काठमाडौं उपत्यकामा मात्रै ३०१ थपिए
नौलो समाचार संवाददाता
२०७७ भाद्र १०, बुधबार मा प्रकाशित ४९७ पटक पढिएको
एकै दिनमा ११ जनाको मृत्यु, थप ८८५ जना सङ्क्रमित

भदौ १०, काठमाडौं। गएको २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणका कारण ११ जनाको मृत्यु भएको छ जुन हालसम्म सर्वाधिक दैनिक वृद्धि हो।

यसअघि भदौ ४ गते पनि ११ जनाको मृत्यु भएको थियो। अहिलेसम्म नेपालमा १७५ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ।

विगत २४ घण्टामा थप ८८५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र कुल सङ्क्रमित सङ्ख्या ३४,४१८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

बुधवार थपिएका सङ्क्रमितमध्ये काठमाडौं जिल्लाका २३० जना सहित ३०१ जना काठमाडौं उपत्यकाका छन्।

त्यस्तै यो अवधिमा ३८५ जना सङ्क्रमणमुक्त भएपछि कोभिड-१९ बाट निको हुनेको कुल सङ्ख्या १९,५०४ पुगेको छ।

हालसम्म ६,३५,२५२ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

अहिले देशभरि १४,७३९ जनामा सक्रिय सङ्क्रमण रहेको उनले बताए।

अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित भएका दुई प्रदेशहरू प्रदेश नं २ र वाग्मती हुन्।

बुधवार सबैभन्दा बढी सङ्क्रमण पुष्टि भएका जिल्लाहरू काठमाण्डू (२३०), सर्लाही (१२०), सुनसरी (५५), ललितपुर (४७), धनुषा (४३) र चितवन (४२) रहेका छन्।

प्रतिक्रिया दिनुहोस