थापाथलीमा ६० रुपैयाँ किलो प्याज, किन्नेको लाइन

नौलो समाचार संवाददाता
२०७७ आश्विन १२, सोमबार मा प्रकाशित ५५५ पटक पढिएको
थापाथलीमा ६० रुपैयाँ किलो प्याज, किन्नेको लाइन

असोज १२, काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो थापाथली विक्री कक्षबाट प्रतिकेजी ६० रुपैयाँमा प्याज सर्वसाधारणलाई विक्रीवितरण गर्न सुरू गरेको छ।

सरकारले बजार अनुगमनका क्रममा बढी मूल्य लिई विक्री गर्न लागेका प्याजलाई जफत गरी सर्वसाधारणलाई सो कक्षबाट प्याज विक्री गर्न थालेको हो। खाद्यले गत शुक्रबारदेखि प्याज बेच्न सुरू गरेको हो।

प्याज किन्नको लागि बिहान साढे १० बजेदेखि दिउँसो साढे ३ बजेसम्म समय तोकिएको छ। एक जनाले तीन किलोसम्म किन्न पाउने खाद्यले जनाएको छ। प्याज किन्नको लागि सर्वसाधारणको लाइन लागेको छ।

यसअघि बजार अनुगमनका क्रममा १४ हजार ६०० केजी प्याज सरकारले नियन्त्रणमा लिएको थियो।

केही दिनअघि उपत्यकामा प्याजको मूल्य १२० रूपैयाँसम्म पुगेको थियो। प्याजको भाउ चर्को रूपमा बढेपछि सरकारले अनुगमन गर्न सुरू गरेको थियो।

प्रतिक्रिया दिनुहोस