असोज १९ बाट तातोपानी नाका खुल्ने

नौलो समाचार संवाददाता
२०७७ आश्विन १४, बुधबार मा प्रकाशित ५६१ पटक पढिएको
असोज १९ बाट तातोपानी नाका खुल्ने

असाेज १४, सिन्धुपाल्चोक। लामो समयदेखि बन्द रहेको तातोपानी नाका सञ्चालनमा आउने भएको छ । मंगलबार मितेरी पुलमा सम्पन्न दुई देशका अधिकारीबीचको बैठकले असोज १९ गतेबाट नाका सञ्चालन गर्ने निर्णय गरेको छ ।

कोरोना जोखिमका बीच स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै नाका सञ्चालन गर्ने निर्णय भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।

मंगलबारको द्विदेशीय अधिकारीबीचको बैठकमा भएको सहमतिअनुसार १८ असोजमा चीन क्षेत्रको जाङमु पोर्ट सञ्चालनमा आउने र भोलिपल्टदेखि चिनियाँ सामान तातोपानी नाका हुँदै नेपाल भित्रिनेछन् । ‘१९ गतेदेखि धमाधम सामान आउन थाल्नेछन्।’ –बैठकपछि प्रमुख जिल्ला अधिकारी ढकालले भन्नुभयो ।

नाका सञ्चालनका लागि चिनियाँले स्वास्थ्य सुरक्षाको सवाललाई गम्भीररूपमा लिन र ‘प्रोटोकल’ पूरा गर्न आग्रह गरेका छन् । सामान आयातका लागि जाने चालक, सहचालक र लोडर मजदुरका अनिवार्य पीसीआर गरिनेछ । चालक सहचालक र मजदुरसमेत गरी एक सिफ्टमा २९ जनासम्म नेपाली रहनेछन् । चिनियाँले नाका सञ्चालन भएपछि ५/५ दिनमा नाकामा खटिने चालक, सहचालक र मजदुरहरूको पीसीआर गर्ने सहमति भएको छ ।

पहिलो समूहका लागि नेपालतर्फ चालक, सहचालक र मजदुरहरू तयारी अवस्थामा रहेको तातोपानी भन्सार कार्यालयले जनाएको छ । नेपाल चीनको प्रमुख व्यापारीक नाका सञ्चालनमा आउन लागेसँगै चिनियाँ क्षेत्रमा अलपत्र परेको नेपाली व्यापारीका सामान नेपाल भित्रिने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस