२ हप्तामै बैंकहरूले प्रवाह गरे १४ अर्ब ऋण

नौलो समाचार संवाददाता
२०७७ मंसिर १७, बुधबार मा प्रकाशित ८५० पटक पढिएको

२ हप्तामै बैंकहरूले प्रवाह गरे १४ अर्ब ऋण

मंसिर, १७ काठमाडौं । दशैंतिहारजस्ता प्रमुख चाडपर्व सकिएसँगै बैंकहरूको कर्जा लगानी उत्साहजनक देखिएको छ । मङ्सिर महीनाको २ सातामा कर्जा प्रवाह १४ अर्बले बढेको छ । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार मङ्सिर दोस्रो सातासम्म कर्जा प्रवाह बढेर ३० खर्ब ६६ अर्ब पुगेको छ ।

२७ ओटा वाणिज्य बैंकहरूबाट असारदेखि अहिलेसम्ममा भने १ खर्ब ६३ अर्ब रुपैयाँ थप कर्जा प्रवाह भएको छ । गत असारसम्ममा यस्तो कर्जा कुल २९ खर्ब ३ अर्ब रुपैयाँमा सीमित थियो । कोभिडले गर्दा सीमित क्षेत्रमा मात्र कर्जा प्रवाह भएकोमा अहिले विभिन्न पूर्वाधारहरूको निर्माण कार्य तीव्र भएकाले उक्त क्षेत्रमा समेत कर्जा प्रवाह हुँदा समग्रमा उत्साहजनक देखिएको बैंकरहरू बताउँछन् । गत साउनमा २५ अर्बले संकुचनमा आएको कर्जा लगानी भदौ, असोज, कात्तिक र मङ्सिरमा सुधार हुँदै आएको छ ।

गत साउनमा कर्जा लगानी संकुचनमा आएर २८ खर्ब ७८ अर्ब रुपैयाँमा सीमित थियो । यसपछि भदौमा थप २६ अर्ब रुपैयाँ थप कर्जा प्रवाह भयो । कात्तिकमा पनि थप १७ अर्ब प्रवाह हुँदा कुल कर्जा ३० खर्ब ५२ अर्ब रुपैयाँ पुगेको थियो ।

अहिले निर्माण क्षेत्र र जलविद्युत्का क्रियाकलाप बढिरहेको बताउँदै नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले भने, ‘कोभिडले सबैभन्दा बढी होटेल व्यवसायलाई असर परेको छ । तर, पर्यटकीय पूर्वाधार निर्माणमा कर्जा गएको छ ।’  बजारमा अपेक्षा गरेअनुसारको कर्जा माग नहुँदा २ खर्बभन्दा बढी तरलता थुप्रिएको थियो । अहिले भने थोरै घटेर १ खर्ब ८० अर्बको अधिक तरलता रहेको अध्यक्ष दाहालले बताए ।

बजारमा कर्जा र निक्षेपको घटबढ हुनु स्वाभाविक हो । बजारमा अधिक तरलता हुँदा बैंकहरूले साधारण निक्षेपको ब्याजदर ह्वात्तै घटाएर २ प्रतिशतभन्दा कमसमेत तोकेका छन् । मूल्यवृद्धिभन्दा कम ब्याजदर निर्धारण गर्न नहुने भनिए पनि त्योभन्दा पनि कममा ब्याजदर ओलिएको छ । यसले निक्षेपकर्ताहरू निरुत्साहित हुनसक्ने राष्ट्र बैंकले औंल्याउँदै आएको छ ।

गत कात्तिकमा निक्षेप संकलन ६ अर्बले घटेर ३६ खर्ब ४८ अर्ब रुपैयाँमा सीमित भएको थियो । तर, मङ्सिर दोस्रो सातासम्म निक्षेप संकलन थप २७ अर्ब रुपैयाँले बढेर रू.३६ खर्ब ७५ अर्ब पुगेको छ


प्रतिक्रिया दिनुहोस