अमेरिकी वैज्ञानिककै अनुसन्धान- ‘काेराेना चीनमा देखिनुभन्दा पहिले अमेरिकामा फैलिसकेकाे थियाे !’

नौलो समाचार संवाददाता
२०७७ मंसिर २०, शनिबार मा प्रकाशित १०६८ पटक पढिएको

अमेरिकी वैज्ञानिककै अनुसन्धान- ‘काेराेना चीनमा देखिनुभन्दा पहिले अमेरिकामा फैलिसकेकाे थियाे !’

मंसिर २०, एजेन्सी। करिब एक वर्षअघि काेराेना भाइरस (कोभिड-१९) चीनको वुहानबाट फैलिएकाे थियाे । अहिलेसम्म विश्‍वले चीनबाटै कोरोना संक्रमण फैलिएको निचोड निकालिरहेको छ । तर वैज्ञानिकहरूले गरेको नयाँ अनुसन्धानले कोरोना भाइरस (कोभिड-१९) चीनमाभन्दा अमेरिकामा अगाडि फैलिसकेको पत्ता लागेकाे छ ।

अमेरिकास्थित सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का वैज्ञानिकले गरेका अनुसन्धानले चीनको उहानमा कोरोना देखिनुभन्दा हप्तौंअघि अमेरिकाका मानिसलाई संक्रमण गरिसकेकाे देखाएकाे हाे । सीडीसीका वैज्ञानिकले गरेका अनुसन्धानको नतिजा क्लिनिकल इन्फेक्सियस डिजिज नामको पत्रिकामा प्रकाशित छ ।

अहिलेसम्मको विवरण अनुसार आधिकारिक रुपमा वैज्ञानिकहरुलाई कोरोना भाइरसबारे ३१ डिसेम्बर २०१९ मा तब जानकारी मिलेकाे थियाे ।  त्यसबेला चीनको वुहान रहेको हुबेई प्रान्तका स्वास्थ्य अधिकारीले एक चेतावनी जारी गर्दै यस्ता मामिलाको पहिलो पटक पुष्टि गरेका थिए ।

तर महामारी सुरु भएको ११ महिनापछि शोधकर्ताहरुले चीनमा भन्दा दुई साता पहिले नै अमेरिकाको तीन राज्यका ३९ जनाको शरीरमा कोरोना भाइरसको एन्टीबडी मिलेको पत्ता लगाएका छन् । यद्यपि अमेरिकाकमा कोरोना भाइरस संक्रमणको पहिलो घटना २०२० जनवरी २१ मा दर्ता भएको थियो।

अनुसन्धानका अनुसार अमेरिकामा १३ डिसेम्बर २०१९ देखि १७ जनवरी २०२० सम्म जम्मा ७ हजार तीन सय ८० रक्तदान गरेका थिए । यीमध्ये १०६ जनाको शरीरमा कोरोना भाइरसको एन्टीबडी पाइएको थियो । क्यालिफोर्निया, ओरेगन र वासिङ्गटनमा १३ देखि १६ डिसेम्बरबीच लिएको रगतको नमूनामध्ये ३९ जनामा कोरोना भाइरसको एन्टीबडी पाइएको थियो।

कुनै पनि व्यक्तिको शरीरमा एन्टीबडी मिल्नुको मतलब हो, त्यो मानिस कुनै पनि समयमा कोरोना संक्रमित भएको थियो। र, कोरोना भएपछि उसको रोग प्रतिरोधक प्रणालीले भाइरससँग लड्न एन्टी बनाइसकेको छ । अमेरिकामा व्यापकरुपमा भाइरस संक्रमण फेब्रुअरी अन्तिमबाट फैलिएको थियो ।

अनुसन्धनकर्ताहरूले चीनमा भन्दा पहिले नै शरीरमा एन्टीबडी बनिसकेका ती अमेरिकनहरु आफ्नै देशमा संक्रमित भए या विदेशबाट संक्रमित भएर आए भन्‍ने निष्कर्षमा अझै पुगिसकेका छैनन् ।

अहिलेसम्म महामारीको केन्द्र वुहानस्थित जनावरको बजारलाई मानिन्दै आएको छ । एकै पटक कयौँ मानिसमा संक्रमण देखिएको हुनाले अहिलेसम्म यही बजारलाई कोरोनाको केन्द्र भनिन्छ। तर एउटा व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना भाइरस फैलिन सुरु भएको मिति अझै पनि वैज्ञानिकहरुले पत्ता लगाउन सकेका छैनन्।

चीनको वुहानमा डाक्टरहरुले गरेको एक अध्ययन अनुसार यहाँ कोरोनाको पहिलो मामिला डिसेम्बर पहिलो तारिखमा पत्ता लागेको थियो ।


प्रतिक्रिया दिनुहोस