‘सूर्य चिह्न’ मा माधव नेपालको दाबी, आेलीकाे केन्द्रीय कमिटिको बैठक अवैधानिक भएकाे आरोप

नौलो समाचार संवाददाता
२०७७ पौष ७, मंगलबार मा प्रकाशित १६१० पटक पढिएको
‘सूर्य चिह्न’ मा माधव नेपालको दाबी, आेलीकाे केन्द्रीय कमिटिको बैठक अवैधानिक भएकाे आरोप

पुष ७, काठमाडौंं।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सूर्य चिह्न माथि धावा नबोल्न चेतावनी दिएका छन्।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले भने, ‘हाम्रो चुनाव चिह्नमा‍थि कसैले धावा बोल्न सक्दैन।’

ओलीले मंगलवार अवैधानिक रुपमा बालुवाटारमा केन्द्रीय कमिटिको बैठक संचालन गरेको नेपालको आरोप छ। उनले आफूहरुसँग बहुमत सदस्य रहेकोले ओलीले संचालन गरेको बैठक वैधानिक नभएको तर्क गरे।

उनले नेकपा एमाले ब्युँतने कुरा हल्ला मात्रै भएको दावी समेत गरेका छन्। पार्टी एकताकै बेला एमाले विघटन भइसकेकाले ओलीले एमाले ब्युँताउन नसक्ने उनको जिकिर छ।

नेपालले सम्बोधनका क्रममा ओलीले पाँच जना सचिवालयका सदस्यलाई समेत नटेरेको बताउँदै भने, ‘हामी पाँच जनालाई त टेरेनन्। प्रचण्डलाई के टेर्थे।’

कार्यकारी अध्यक्ष प्रचण्डको कुर्सी ओलीले हटाएकोमा प्रचण्ड सहेर बसेको नेपालको भनाई छ। उनले आफू भए कुर्सी बोकेर माथि बस्ने जिकिर समेत गरे।

नेकपाको नयाँ अध्यक्षमा प्रस्तावित नेपालले भने ‘मैले त भन्दिएको थिए बैठकमा प्रचण्ड भएर सहेर बस्नुभयो म भए कुर्सी बोकेरै माथि बस्थे।’

उनले पूर्व एमाले र पूर्व माओवादीको धारणा छाडेर अगाडि बढ्न केन्द्रीय सदस्यलाई आग्रह गरेका छन्। निर्वाचन आयोगमा राजनीतिक प्रतिवेदन पनि बुझाएको उनको भनाई छ।

‘हामीले निर्वाचन आयोगमा विधान बुझाएका छौँ। राजनीतिक प्रतिवेदन बुझाएका छौँ। त्यसैका आधारमा नेकपा अगाडि बढ्छ। कसैको लहडमा चल्दैन्,’ उनले भने।

ओलीले नै सुरुमा आफू माथि प्रहार गर्न थालेको नेता नेपालको दाबी छ। उनले सुरुमा ओलीले नै सबै आरोपहरु सार्वजनिक गरेको बताए।

प्रतिक्रिया दिनुहोस