बेलायतबाट आएका ५ जनामा कोरोना संक्रमण पुष्टि

नयाँ रुपको भाइरसका विषयमा अध्ययन हुँदै
नौलो समाचार संवाददाता
२०७७ पौष १३, सोमबार मा प्रकाशित ७८३ पटक पढिएको
बेलायतबाट आएका ५ जनामा कोरोना संक्रमण पुष्टि

पुष १३, काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना (कोभिड–१९) को नयाँ प्रजाति (भेरियन्ट) को उद्गमस्थल बेलायतबाट आएका एक सय ९३ जनालाई निगरानीमा राखेको छ ।

ती मध्ये पाँचजनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले निगरानीमा राखिएकालाई ज्वरो र रुघा लागेको लक्षण देखिए पिसिआर परीक्षण गरेर उपचार गरिने जानकारी दिनुभयो ।

महाशाखाले सोमबार मात्र तीमध्ये १२ जनाको पिसिआर परीक्षण गरेको छ ।

मन्त्रालयले यसअघि नै सूचना जारी गरी यही पुस १ गतेदेखि ७ गतेभित्र बेलायत अथवा बेलायतको बाटो हुँदै नेपाल प्रवेश गरेका सबैका अनिवार्यरुपमा १० दिन होटल क्वारेन्टिनमा बस्न अनुरोध गरेको थियो ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी कोभिड–१९ को विकसित रुप नै नयाँ प्रजातिको भाइरस रहेको बताउनुभयो ।

उहाँले कोभिड–१९ जस्तै यसले पनि फोक्सोमा असर गर्ने बताउनुभयो ।

उहाँले बेलायत, अमेरिका र अफ्रिकाबाट आएका मानिसको पिसिआर परीक्षण र क्वारेन्टिनमा राखिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस