हुँदा खाँदाको बहुमतको संसद् विघटन गर्नेले चुनाव गराउलान् ? : प्रचण्ड

नौलो समाचार संवाददाता
२०७७ पौष १४, मंगलबार मा प्रकाशित ७१३ पटक पढिएको
हुँदा खाँदाको बहुमतको संसद् विघटन गर्नेले चुनाव गराउलान् ? : प्रचण्ड

पुष १४, काठमाडौं । नेकपा (प्रचण्ड माधव ) पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संविधान, लोकतन्त्र र लोकतान्त्रिक प्रणालीविरुद्ध केपी ओलीले गरेको क्रुर प्रहारविरुद्ध आन्दोलन गर्नुपरेको बताएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध मंगलबार काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री केपी ओलीले संविधान र गणतन्त्रमाथि निरन्तर प्रहार गर्दै आएको बताए ।

प्रचण्डले केपी ओली गणतन्त्रको पक्षमा हुनै नसक्ने भन्दै ओलीको सिद्धान्त बयलगाडाको सिद्धान्त भएको पनि बताए । उनले संघीयता र धर्मनिरपेक्षताविरोधी ओली हो भन्ने थाहा भएपनि जनताको आँधीहुरी आएपछि उनले गणतनत्र मान्ने बताएकाले आफुले विश्वास गरेको बताए । ‘अहिले हामीलाई अप्ठ्यारो लागिरहेको छ । केपी ओलीलाई बुझ्न नसकेकोमा क्षमायाचना गर्न चाहन्छु’, प्रचण्डको भनाई छ ।

प्रचण्डले ओली कम्युनिस्ट मूल्यमान्यता, विधि, विधानविपरीत कदम चालेको भन्दै विचारमा समेत स्खलित भइसकेको टिप्पणी गरे । प्रचण्डले पहिलो चरणको ओली कदमका विरुद्ध भोलि अर्को चरणको आन्दोलनको कार्यक्रमको तयारी गरिरहेको बताए । उनले प्रतिगामी कदम नसच्चिएसम्म आन्दोलन नछोड्ने पनि बताए । ‘हामी छोड्नेवाला छैनौँ, छोड्दैनौँ’ प्रचण्डको भनाइ छ ।

प्रचण्डले ७० प्रतिशत नेकपाका केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको भन्दै सय जनाको वरिपरि बसेर १२ सयको केन्द्रीय समिति बनाएको भनेर नौटङ्कीमा ओली लागेको बताए ।

उनले गलत कदम सच्चाउन अन्तिम भरोसा जनता नै भएकाले आफु जनतामा आएको पनि बताए । उनले चुनाव गर्नलाई ओलीले घोषणा नगरेको पनि बताए । ‘यो चुनाव गर्न गरेको घोषणा नै होइन, स्वयं ओलीलाई पनि भरोसा छैन । हुनेवाला चुनावको घोषणा गरेको होइन । हुँदा खाँदाको बहुमतको संसद् विघटन गरेर ओलीले चुनाव गराउँछन् ?’ प्रचण्डको प्रश्न छ । उनले ओलीले श्री ३ हुने सपना देखिरहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस