विद्यालय, जिमखाना, सिनेमा हल खुल्ने

नौलो समाचार संवाददाता
२०७७ पौष १९, आईतबार मा प्रकाशित ८०६ पटक पढिएको
विद्यालय, जिमखाना, सिनेमा हल खुल्ने

पुष १९, काठमाडौं । कोभिडका कारण बन्द भएका विद्यालयहरू खुल्ने भएका छन् । आइतबार बसेको कोभिड रोकथाम तथा नियन्त्रण समिति (सीसीएमसी) निर्देशक समितिको बैठकले आवश्यक परेमा विद्यालय, चलचित्र घर, जिमखाना लगायतलाई बन्द गर्न सक्ने अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्ने निर्णय गरेको हो ।

बैठकका निर्णयहरू सुनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले सरकारको पूर्व निर्णयअनुसार रोक लगाइएका सबै क्षेत्रहरूमा वर्तमान स्थितिको विश्लेषण गरी रोक लगाउन सक्ने गरी अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाउने निर्णय भएको जानकारी दिनुभयो ।

यस्तै, बैठकले नयाँ कोरोना भाइरसको संक्रमणको प्रवेश भएमा बढ्न सक्ने जोखिम र दोस्रो लहर आउन सक्ने अवस्थालाई ध्यान दिएर स्वास्थ्य सुरक्षा मापदण्डको पालना भए नभएको सम्बन्धमा अनुगमन गर्ने र लापरवाही गर्नेलाई कारबाही गर्ने निर्णय भएको छ ।

नयाँ प्रकारको कोरोना भाइरस देखिएका मुलुकबाट आउने यात्रुलाई १० दिनसम्म क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउन मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णय पनि सीसीएमसी निर्देशक समितिले गरेको छ ।

प्रतिक्रिया दिनुहोस