युकेबाट नेपाल आएका तीन जनामा नयाँ रुपको कोरोनाको संकेत, परीक्षणका लागि हङकङ पठाइँदै

नौलो समाचार संवाददाता
२०७७ पौष २२, बुधबार मा प्रकाशित ८०७ पटक पढिएको
युकेबाट नेपाल आएका तीन जनामा नयाँ रुपको कोरोनाको संकेत, परीक्षणका लागि हङकङ पठाइँदै

पुष २२, काठमाडौं। संयुक्त अधिराज्य (युके) बाट नेपाल आएका तीन जनामा नयाँ रुपको कोरोना भाइरस संक्रमणको संकेत देखिएको छ।

पुस १ गते यता बेलायतबाट नेपाल आएका २७७ जनामध्ये ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो। जसमध्ये तीन जनामा नयाँ रुपको संक्रमणको संकेत देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए।

उनका अनुसार तीन जनाकै नमुना थप परीक्षणका लागि ह‌ङकङमा पठाउने तयारी भएको छ।

‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा तीन जनाको नमुनामा नयाँ रुपको कोरोनाको जस्तो संकेत देखिएपछि थप परीक्षणका लागि हङकङमा पठाउने निर्णय भएको हो’ उनले भने।

पुरानो कोरोना भाइरसको तुलनामा नयाँ स्वरूपको भाइरसको संक्रमण दर बढी हुने र शरीरको रोग प्रतिरोधात्मक क्षमतामा पनि छिटो आक्रमण गर्न सक्ने हालसम्मका अध्ययनले देखाएको बताइएको छ।

नयाँ स्वरुपको भाइरस भएकाले यसको विषयमा अझै अनुसन्धान नै भइरहेको छ। नयाँ स्वरुपको भाइरस संसारभर फैलिएमा अहिले बनिरहेका कोभिड(१९ विरुद्धको खोपले नै काम गर्छ वा गर्दैन भन्ने चिन्ता पनि थपिएको छ।

प्रतिक्रिया दिनुहोस