केयूको उपकुलपतिका लागि पहिलोपटक खुला आवेदन माग, मन्त्रीको निजी इमेलमा विवरण पठाउनुपर्ने

नौलो समाचार संवाददाता
२०७७ पौष २२, बुधबार मा प्रकाशित ८०१ पटक पढिएको

केयूको उपकुलपतिका लागि पहिलोपटक खुला आवेदन माग, मन्त्रीको निजी इमेलमा विवरण पठाउनुपर्ने

पुष २२, काठमाडौं। काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपति छनौटका लागि पहिलो पटक खुला आवेदन माग गरिएको छ। मंगलबार एक सूचना जारी गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उपकुलपतिका लागि खुला आवेदन माग गरेको हो।

उपकुलपति बन्नका लागि इच्छुक उम्मेदवारहरूलाई पुस २७ गतेभित्र सिफारिस समितिका अध्यक्षसमेत रहेका शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको निजी इमेलमा वैयक्तिक विवरण पठाउन निकएको छ। तर, उक्त सूचनामा इच्छुक व्यक्तिको उपकूलपति हुन पाउने आवश्यक योग्यता भने उल्लेख गरिएको छैन।

सरकारले उपकूलपति छनौटका लागि शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा केयूका पूर्वउपकुलपति सुरेशराज शर्मा र बोर्ड सदस्य दमननाथ ढुंगाना सदस्य रहेको उपकुलपति छनौट समिति गठन गरेको छ।

उक्त सिफारिस समितिको पुस २१ गतेको बैठकले उपकूलपति छनौटका लागि खुला आवेदन माग गर्ने निर्णय गरेको थियो।

यसअघि, केयूको उपकुलपति केयूभित्रैबाट मात्र हुने गरेको थियो। केयूको ३० वर्षे इतिहासमा ६ पटक सुरेशराज शर्मा र २ कार्यकाल रामकण्ठ माकाजुले उपकुलपतिको जिम्मेवारी पाएका छन्।

यसपटक उपकुलपति नदोहोर्‍याउन दबाब आएपछि सिफारिस समितिले सूचना प्रकाशित गरेको अनुमान गरिएको छ। केयूका हालका उपकुलपति रामकण्ठ माकाजुको कार्यकाल आगामी माघ पहिलो साता सकिदैँ छ।

उपकुलपति छनौट सम्बन्धि सूचना


प्रतिक्रिया दिनुहोस