काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. भोला थापा नियुक्त

नौलो समाचार संवाददाता
२०७७ माघ ७, बुधबार मा प्रकाशित ४३८ पटक पढिएको
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. भोला थापा नियुक्त

माघ ७, काभ्रे। काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक भोला थापा नियुक्त भएका छन्।

विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी ओलीले थापालाई नियुक्त गरेका हुन्।

काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट गर्न गठित समितिले डा. रामकण्ठ मकाजू, प्रा. डा. भोला थापा र प्रा. डा. बालचन्द्र लुइँटेलको नाम सिफारिस गरेको थियो।

प्राध्यापक संघले भने उपकुलपति सिफारिस भएका तीनै व्यक्तिको योग्यता र मापदण्डबारे प्रश्न उठाएको थियो।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको नेतृत्वको सर्च कमिटीले काठमाडौं विश्वविद्यालयको नयाँ उपकुलपतिमा तीन व्यक्तिको नाम सिफारिस गरेपछि संघले त्यसबारे प्रश्न गरेको थियो।

सर्च कमिटीमा मन्त्री श्रेष्ठ, पूर्वसभामुख दमननाथ ढुंगाना र पूर्वउपकुलपति सुरेशराज शर्मा छन्। कमिटीले माकाजु, थापा र लुइँटेलको नाम सिफारिस गरेको सूचना बाहिरिएको थियो।

सर्च कमिटीले सार्वजनिक रुपमा आवेदन माग्दा ४० जना बढीले आवेदन दिएका थिए।

काठमाडौं विश्वविद्यालय स्थापना भएदेखि सो विश्वविद्यालयमा प्रध्यापन पेशा गर्दै आएका थापाले विश्वविद्यालयमा २७ वर्ष काम गरेका थिए। नवनियुक्त थापा ९ वर्ष डीन र ५ वर्ष रजिष्ट्रार थिए।

पेशामा मेकानिकल इन्जिनियर उपकुलपति थापाले नर्वेमा नेपालको हाइड्रोपावर डेभलपमेन्टमा विद्यावारिधि गरेका थिए।

कुलपति नियुक्ति भएपछि विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्रेष्ठलाई भेट गर्न मन्त्रालयले पुगेका थिए।

सो क्रममा उनले विश्वविद्यालयको शैक्षिक उन्नयनमा आफू लागिपर्ने बताएका थिए। उनले हाल देखिएका समस्या समाधान गर्न आफू हर सम्भव लागिपर्ने बताउँदै त्यसको लागि पूर्व उपकुलपति, प्राध्यापक संघ लगायतसंग सहकार्य गरी अघि बढ्ने बताए।

सहकुलपति एवं मन्त्री श्रेष्ठले सबैको सम्मान हुनेगरी काम गर्न आग्रह गरेका थिए।

प्रतिक्रिया दिनुहोस