बाइडेनले उल्ट्याए ट्रम्प प्रशासनका महत्वपूर्ण नीतिहरु, शपथलगत्तै गरे यी कार्यकारी आदेश

नौलो समाचार संवाददाता
२०७७ माघ ८, बिहिबार मा प्रकाशित ४९४ पटक पढिएको

बाइडेनले उल्ट्याए ट्रम्प प्रशासनका महत्वपूर्ण नीतिहरु, शपथलगत्तै गरे यी कार्यकारी आदेश
President Joe Biden signs his first executive order in the Oval Office of the White House on Wednesday, Jan. 20, 2021, in Washington. (AP Photo/Evan Vucci)

माघ ८, एजेन्सी। अमेरिकाको ४६ औं राष्ट्रपतिका रुपमा शपथ लिएपछि जो बाइडेनले आफ्नो पहिलो प्राथमिकतामा मुख्य काम चार वटा रहेको बताएका छन्। कोभिड-१९ महामारी रोक्नु, महामारीको विपदमा राहत वितरण गर्नु, जलवायु परिवर्तनसँग मुकाबिला गर्नु र नस्लीय भेदको अन्त्य गर्नु पहिलो प्राथमिकता भएको उनले ट्वीटरमार्फत बताएका हुन्।

बुधवार वासिङटन डिसीस्थित क्यापिटलमा अमेरिकी सर्वोच्च अदालतका प्रधानन्यायाधीश जो जी रोबर्टस जुनियरबाट विशेष समारोहमा बाइडेनले शपथ लिएका हुन्।

शपथ लिएपछि सम्बोधनकै क्रममा बाइडेनले आफू सबै अमेरिकीको राष्ट्रपति बन्ने बताए। प्रजातन्त्र र अमेरिकी जनताले जितेको दिन भन्दै बाइडेनले आफूलाई साथ दिने र नदिने सबैको राष्ट्रको रुपमा काम गर्ने बताएका हुन्। उनले कोरोना भाइरससँग मिलेर लड्ने र जित्नेमा अमेरिका आशावादी रहेको समेत बताए।

राष्ट्रपतिमा निर्वाचित भएलगत्तै बाइडेनले आफ्नो मुख्य ध्यान महामारी अन्त्य गर्नेमा भएको घोषणा गरेका थिए। शपथपछि बाइडेन ‘मोटरकेड’ सहित ह्वाइटहाउस प्रवेश गरे। सेनाका विशेष झाँकी र बाजागाजासहित ‘मोटरकेड’ ह्वाइट् हाउस प्रवेश गरेको थियो

१५ वटा कार्यकारी आदेशमा हस्ताक्षर, उल्टिए ट्रम्पका नीति

राष्ट्रपतिमा शपथ लिएको एक घण्टामै बाइडेनले १५ वटा कार्यकारी आदेशमा हस्ताक्षर गर्न भ्याए। त्यसैगरी उनले थप दुईवटा निर्देशनमा पनि हस्ताक्षर गरेका छन्।

कोरोना महामारी, जलवायु परिवर्तन र आर्थिक सहायता सम्बन्धी तीनवटा कार्यकारी आदेशमा उनले सार्वजनिक रुपमै हस्ताक्षर गरे। बाइडेनले संघीय भवन र त्यस वरपरका भूभागहरुमा मास्क लगाउन अनिवार्य गर्ने कार्यकारी आदेश र एक राज्यबाट अर्को राज्यमा जाँदा पनि मास्क अनिवार्य लगाउनुपर्ने आदेशमा हस्ताक्षर गरेका छन्। त्यसैगरी उनले अमेरिकीहरुलाई कम्तीमा पनि सय दिन मास्क लगाउन अनुरोध गरेका छन्।

बाइडेनले ट्रम्पका केही नीतिहरु उल्ट्याएका छन्। यसमा जलवायु परिवर्तन र इमिग्रेसन नीतिहरु रहेका छन्।

यसअघि ट्रम्पले पेरिस सम्झौतामा संलग्न नहुने नीति लिएको थियो। यस नीतिलाई बाइडेनले उल्ट्याउँदै अब संलग्न हुने जानकारी राष्ट्रसंघ समक्ष पठाएका छन्। विश्वव्यापी तापमान वृद्धिलाई नियन्त्रण गर्ने यो सम्झौतामा सन् २०१५ मा हस्ताक्षर गरिएको थियो।

यसैगरी इमिग्रेसनसम्बन्धी नीतिमा पनि बाइडेन केही लचक देखिएका छन्। उनले बाल्यकालमा अमेरिका आएका कागजपत्रविहिनलाई संरक्षण प्रदान गर्ने डाका कार्यक्रमलाई सुदृढिकरण गर्ने आदेशमा पनि हस्ताक्षर गरेका छन्। ट्रम्प प्रशासनले सातवटा मुस्लिम बाहुल्य देशका नागरिक माथि अमेरिका यात्रामा प्रतिबन्ध लगाएका थिए। यो प्रतिबन्धलाई उल्टाउने कार्यकारी आदेश बाइडेनले जारी गरेका छन्।

त्यसैगरी ट्रम्पले मेक्सिकोको सिमानामा पर्खाल लगाउन संकटकाल नै लगाएका थिए। यो संकटकाललाई पनि बाइडेनले उल्टाएका छन्। ट्रम्पले सिमानामा पर्खाल लगाउन बजेट जुटाउने उद्देश्यले संकटकालको घोषणा गरेका थिए। उक्त कार्यका लागि बजेट नजाने बाइडेनले जनाएका छन्।

यसैगरी विश्व स्वास्थ्य संगठनबाट बाहिरिने ट्रम्पको कदमलाई पनि बाइडेनले कार्यकारी आदेशमार्फत उल्टाएका छन्। शपथलगत्तै बाइडेनले हस्ताक्षर गरेका आदेशमा ट्रम्पका ९ वटा नीतिहरुलाई उल्टाउने आदेश परेका छन्।


प्रतिक्रिया दिनुहोस