विश्वकै गर्मी मानिने मरुभूमिमा हिमपात, हिउँले ढाकिए साउदी र साहारा मरुभूमि (तस्वीरहरु)

नौलो समाचार संवाददाता
२०७७ माघ ९, शुक्रबार मा प्रकाशित १६१६ पटक पढिएको

विश्वकै गर्मी मानिने मरुभूमिमा हिमपात, हिउँले ढाकिए साउदी र साहारा मरुभूमि (तस्वीरहरु)

माघ ९, काठमाडौं। हिमाली र उच्च पहाडी क्षेत्रमा हिउँद महिनामा हिमपात हुनु सामान्य हो । यी क्षेत्रहरु सामान्यतया चिसो हुन्छन् । हिउँदमा यहाँ अत्यन्तै चिसो हुन्छ र ग्रीष्म ऋतुमा पनि सामान्यतया गर्मी हुँदैन । सधैंभरी चिसो हुने क्षेत्रमा हिमपात हुनु सामान्य कुरा हो तर दिउँसोको समयमा अत्यन्तै गर्मी हुने मरुभूमिमा पनि रातको समयमा हिउँ परेको छ । साउदी अरेबियाको मरुभूमि क्षेत्र र अफ्रिकाको साहारा मरुभूमि हिउँको पत्रले ढाकिएका छन् ।

 

डेलीमेलको रिपोर्टअनुसार अहिले मरुभूमि क्षेत्रको तापक्रम माइनस २ डिग्री सेल्सियससम्म झरेको छ । साहारा मरुभूमिको बालुवामाथि जमेको हिउँको पत्रका तस्वीरहरु अहिले सामाजिक संजालमा शेयर गरिएका छन् । मरुभूमिमा भएको दुर्लभ हिमपातको दृश्य हेर्न अहिले बाहिरबाट पर्यटकहरु पनि आएका छन् । सामान्यतया मरुभूमिमा हिमपात नहुने भएकोले यो हिमपातलाई निकै दुर्लभ दृश्य मानिएको छ ।

साहारा मरुभूमिको अइन सेफरालाई मरुभूमिको प्रवेशद्वार पनि भनिन्छ । समुद्री सतहबाट करिब १ हजार मिटरको उचाइमा रहेको यो क्षेत्र एटलस पहाडले घेरिएको छ । साहारा मरुभूमि उत्तरी अफ्रिकाको अधिकांश क्षेत्रमा फैलिएको छ । पछिल्लो हजारौं वर्षदेखि यस क्षेत्रको तापक्रम र आर्दतामा ठूलो परिवर्तन देखिएको छ । अइन सेफरा अहिले सुख्खा छ तर करिब १५ हजार वर्षपछि यो क्षेत्र पुनः हराभरा हुने अनुमान गरिएको छ ।

उता साउदी अरेबियाको असीर प्रान्तमा भएको हिमपातलाई लिएर यहाँका स्थानीयले उत्सुकता र खुसी व्यक्त गरेका छन् । रिपोर्टका अनुसार यो क्षेत्रमा करिब ५० वर्षपछि यति न्यून तापक्रम रेकर्ड गरिएको हो । दक्षिण पश्चिमी क्षेत्रमा तापक्रम माइनस २ डिग्रीमा झरेको छ । जनवरी महिनामा यस क्षेत्रमा तापक्रा आम रुपमा १२ डिग्री सेल्सियस रहन्छ र गर्मीमा तापक्रम ४० डिग्रीभन्दा माथि पुग्छ । यहाँ रातमा चिसोमा परेको हिउँ दिनमा पग्लिएर जान्छ ।


प्रतिक्रिया दिनुहोस