काभ्रेको चौंरीदेउराली गाउँपालिकाद्वारा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया

नौलो समाचार संवाददाता
२०७७ माघ ९, शुक्रबार मा प्रकाशित ७०८ पटक पढिएको

काभ्रेको चौंरीदेउराली गाउँपालिकाद्वारा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया

माघ ९,  काभ्रे। काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाले ७० वर्ष माथिका बृद्धबृद्धाहरुको आँखाको मोतियाबिन्दुको निःशुल्क अप्रेशन गर्न शुरु गरेको छ ।

गाउँपालिकाले बुधबारबाट वडा नं. ५ को जागृति माविमा अप्रेशनको लागि शिविर सञ्चालन गरेर निःशुल्क अप्रेशन गर्न शुरु गरेको हो ।

शिविरमा गाउँपालिका अध्यक्ष दिनानाथ गौतमले स्थानीय सरकार गाउँपालिका भित्रको जनताको हरेक समस्यामा एक हुँदै आएको बताए ।

त्यस्तै गाउँपालिका उपाध्यक्ष ताराकुमारी चौंलागाईंले जेष्ठ नागरिकहरुको साथमा स्थानीय सरकार छ भन्ने अनुभूति दिलाउन यस्तो कार्यक्रम ल्याएको बताईन् ।

२ दिनमा ६५ जनाले पाए सेवा

बुधबार र विहिबार गरी भएको शिविरमा ६५ जना बृद्धबृद्धाहरुको मोतियाविन्दुको सफल शल्यक्रिया भएको स्वास्थ्य शाखा प्रमुख तेजबहादुर घिसिङ जानकारी दिए । उनका अनुसार बुधबार २३ र बिहिबार ४२ जनाको सफल भएको थियो । शुक्रबारसम्म शिविर सञ्चालन हुने घिसिङले बताए ।

उक्त शिविरमा अप्रेशनको लागि ग्रामीण स्वास्थ्य तथा शिक्षा केन्द्र, गोकर्ण काठमाडौँको प्राविधिक टोलीले सहयोग रहेको बताईएको छ ।


प्रतिक्रिया दिनुहोस