ओलीलाई सडकबाटै परास्त गर्ने प्रचण्ड–माधव पक्षको उद्घोष, ‘ओलीलाई तीन वर्षमा पनि तह लगाउन सकिएन’-प्रचण्ड

नौलो समाचार संवाददाता
२०७७ माघ ९, शुक्रबार मा प्रकाशित ६०६ पटक पढिएको

ओलीलाई सडकबाटै परास्त गर्ने प्रचण्ड–माधव पक्षको उद्घोष, ‘ओलीलाई तीन वर्षमा पनि तह लगाउन सकिएन’-प्रचण्ड

माघ ९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० प्रचण्ड माधव पक्षले काठमाडौँमा शक्ति प्रदर्शन गरेको छ ।

दोस्रो चरणको आन्दोलनमा रहेको प्रचण्ड–माधव पक्षले शुक्रबार उपत्यकाका विभिन्न नौ स्थानबाट हजारौँको संख्यामा आफ्ना नेता कार्यकर्ता भेला गरेर काठमाडौँको भृकुटीमण्डपमा विशाल सभासमेत गरेको छ ।

सभालाई सम्बोधन गर्दै अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र नेता घनश्याम भुषालले सम्बोधन गर्दै जनताको बलमा ओलीको प्रतिगामी कदम परास्त गरेरै छाड्ने दाबी गरे । उनीहरुले केपी ओलीको संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र संसदबिरुद्धको प्रहारबाट जोगाउन संघर्षको विकल्प नभएको बताए ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा फेरि एकजुट भएर लड्नुपर्ने समय आएको बताए । परिवर्तनकारी शक्तिहरु मिलेर प्रतिगमनकारीहरुलाई परास्त गर्नुपर्ने उनको भनाइ थियो ।

सम्बोधनका क्रममा प्रचण्डले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामात्र नभइ यो संविधान र शान्ति प्रक्रियालाई नै विघटन गर्न खोजेको भन्दै उनको निरंकुश र स्वेच्छाचारी कदमलाई सही थाप्दा देश बर्बादीतर्फ जाने भएकाले जनतामा जानुको विकल्प नभएको बताए ।

उनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अघि वाम गठबन्धन बनाएर झण्डै दुई तिहाइ बहुमत हासिल गरेपछि देशको आर्थिक विकासमा केन्द्रीत हुने गरी पार्टी एकता गरिएपनि ओलीका गलत कृयाकलाप र स्वेच्छाचारी प्रवृत्तिले मुलुक उल्टो दिशामा गएको स्वीकार गरे ।

‘हामीले तीन वर्षमा पनि केपीलाई तह लगाउन सकेनौँ,’ उनले भने, ‘उहाँका केही कुरा मानिदिएर पार्टी पनि बचाउन सकिन्छ कि भनेर प्रयास गरेको हो तर केपीका गलत प्रवृत्तिविरुद्ध कडा तरिकाले संघर्ष गर्न सक्नुपर्थ्यो, हामीले गर्न सकेनौँ, यसमा म तपाईंहरुसामु आत्मालोचना गर्छु ।’

प्रचण्डले ओली प्रवृतिको चर्को विरोध गर्दै ओलीमा पनि राजा महाराजा प्रवृति देखिएकाले त्यस्तो प्रवृतिलाई जनताले परास्त गरेरै छोड्ने विश्वास व्यक्त गरे । ‘नेपाली जनताले तानाशाहलाई घुँडा टेकाएर फुटबल खेल्न सक्छन्, राजा महाराजाका श्रीपेच झिकेर लात्ताले हान्न सक्छन् भन्ने प्रमाणित भइसकेको छ,’ प्रचण्डको भनाइ छ ।

त्यस्तै अर्का अध्यक्ष माधवकुमार नेपालले फेरि ओलीसँग मिल्छन् कि भनेर अन्य पार्टीहरुले आशंका गरेपनि त्यो सम्भावना नरहेको बताए । उनले सिंगो देश ओलीका विरुद्ध रहेको भन्दै ओलीसँग अरिङ्गाल र साइबर सेना मात्रै रहेको दावी गरे । ‘ओलीको विरुद्धमा सिंगो देश उभिएको छ । ओलीको पक्षमा साइवर सेना र अरिंगालमात्रै छन् । हाम्रो विशाल पार्टीसँग ओलीका अरिंगाल र साइबर सेनाले लड्ने क्षमता राख्दैनन्’ अध्यक्ष नेपालको भनाइ छ । उनले ओलीसँग मिल्छन् कि भन्ने आंशकाको पनि खण्डन गरे । ‘अहिले कतिपय पार्टीले शंका गरेका छन् । यो कुनै नाटक गरेका त छैनन् रु कतै मिल्ने त हैनन् रु कतै हामीलाई धोका त दिने हैनन् रु हामी मूल्यको राजनीति गर्छौँ । हामी विचारको राजनीति गर्छौँ,’ नेपालको भनाइ छ ।

अध्यक्ष नेपालले ओलीले ५० वर्षसम्म दुःख मात्रै दिएको गुनासो पनि गरे । ‘ओलीले ५० वर्षसम्म हैरान पारे, दुःखमात्रै दिए । पार्टी एकता गरेपछि केपी ओली सुध्रिन्छन् कि भन्ने सोच्यौँ तर भएन,’ नेपालले भने ।

सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता झलनाथ खनालले आधिकारिक नेकपा प्रचण्ड–माधवले नेतृत्व गरेको पार्टी नै भएको भन्दै त्यसका लागि जनता को सँग छन् भन्ने हेर्न सडकमा आउन निम्ता दिए ।

‘म केपी ओलीलाई कुन पार्टी आधिकारिक हो भन्ने कुरा सडकमा आएर हेर्न निम्ता गर्न चाहन्छु’, नेता खनालले चेतावनी दिए । उनले ओलीको प्रतिगामी कदम नसच्चिएसम्म आन्दोलन नरोकिने भन्दै ओलीलाई कम्युनिस्ट आन्दोलनका घातका तत्व भएको टिप्पणी गरे ।

सभामा सम्बोधनको सुरुवात गर्दै नेता घनश्याम भुषालले प्रधानमन्त्री केपी शर्मा ओलीको सेटिङले देश नचल्ने बताए ।

उनले सबैतिर ओलीले सेटिङ मिलाएको भनेर सुन्ने गरेको भन्दै ओलीको सेटिङ र जालझेल सफल नहुने दावी गरे ।


प्रतिक्रिया दिनुहोस