काभ्रेमा पनि निर्वाचनको तयारी सुरु

नौलो समाचार संवाददाता
२०७७ माघ ९, शुक्रबार मा प्रकाशित ३९५ पटक पढिएको
काभ्रेमा पनि निर्वाचनको तयारी सुरु

माघ ९, काभ्रे। निर्वाचन आयोगको मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रम २०७७ अनुसार बुधबारदेखि जिल्ला निर्वाचन कार्यालय काभ्रेले आवश्यक तयारीको प्रारम्भिक कामलाई अगाडि बढाएको छ ।

निर्वाचन आयोगले नयाँ मतदाता नामावली सङ्कलनको कामलाई स्थगित गर्दै मतदाताको नामावलीलाई अध्यावधिक, मतदानस्थल र केन्द्रलाई राजनीतिक दल र स्थानीय सरकारको आवश्यक सल्लाह सुझावका आधारमा संशोधन अगाडि बढाएको जनाइएको छ । यससँगै जिल्लामा पनि कार्यालयले छलफल आयोजना गरेको छ ।

पहिलो चरणको काम मतदानस्थल, केन्द्रको अवस्था र स्थानीय तहबाट आएको औपचारिक पत्रसहितको सुझावका आधारमा छलफल गरी निर्वाचन आयोगमा सिफारिस गर्ने काम अगाडि बढाएको कार्यालयका निर्वाचन अधिकारी उमेशकुमार राईले जानकारी दिए ।

“आयोगको निर्देशन अनुसार नयाँ मतदानस्थल बनाउन नमिल्ने तर भएकोलाई अवस्था र मतदाताको समस्यालाई ध्यानमा राखेर राजनीतिक दल र स्थानीय तहको सुझावको आधारमा निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेका छौँ”, उनले भने, “उहाँहरुको सुझावलाई मध्यनजर गरी सोही अनुसारले प्रक्रियालाई अगाडि बढाएका छौँ ।”

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का प्रतिनिधि नारायण पाण्डे र नेपाली काँग्रेसका प्रतिनिधि महेश पौडेलले निर्वाचन कार्यालयले गरेको आग्रहका आधारमा स्थानीय तहहरुले पठाएको आधिकारिक पत्र बाहेक अरु मतदानस्थललाई अहिलेको लागि नचलाउन सुझाव दिए ।

वि।सं २०७४ को निर्वाचनमा जिल्लामा दुई लाख ७२ हजार २९२ मतदाता सङ्ख्या रहेकोमा अहिले नयाँ दश हजार २६३ जना थप भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस