आमहड्ताल गर्नेलाई साझाको सुझाव : ‘एउटा कुकर्मको सुधार अर्को कुकर्मबाट हुन सक्दैन’

नौलो समाचार संवाददाता
२०७७ माघ २२, बिहिबार मा प्रकाशित ३०६ पटक पढिएको
आमहड्ताल गर्नेलाई साझाको सुझाव : ‘एउटा कुकर्मको सुधार अर्को कुकर्मबाट हुन सक्दैन’

माघ २२, काठमाडौं। सरकारले संसदीय सुनुवाइ विना नै संवैधानिक आयोगमा पदाधिकारीको नियुक्ति र शपथ ग्रहण गराएकोप्रति विवेकशील साझा पार्टी गम्भीर आपत्ति जनाएको छ ।

प्रवक्ताका प्रवक्ता शरदराज पाठकले बिहीवार एक विज्ञप्ति जारी गर्दै संवैधानिक आयोगको नियुक्ति संविधानमाथिको घातक प्रहार भएको जनाएका छन् ।

‘संसद् विघटन गरी मुलुकलाई ठूलो अस्थिरतातर्फ धकेलेको केपी ओली नेतृत्वको सरकारले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा गरेको उक्त नियुक्ति संविधानमाथिको फेरी अर्को घातक प्रहार हो,’ विज्ञप्तिमा उल्लेख छ ।

शृंखलाबद्ध रूपमा असंवैधानिक कदम चाल्दै सरकारले मुलुकलाई गम्भीर द्वन्द्वतर्फ धकेल्न खोजेको विज्ञप्तिमा उल्लेख छ ।

‘सरकारको अर्को असंवैधानिक कदमलाई राष्ट्रपतिले फेरि पनि सहजै सदर गरिदिनु दुर्भाग्यपूर्ण छ । त्यसैगरी ती नियुक्ति असंवैधानिक रहेको जिकिरसहित सर्वोच्च अदालतमा दायर मुद्दा विचाराधीन रहेकै अवस्थामा आफैं उपस्थित भई शपथ ग्रहण गराउने कार्यले प्रधानन्यायाधीशमाथि पनि नैतिक प्रश्न खडा भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

विवेकशील साझा पार्टी तत्काल संवैधानिक सर्वोच्चता र विधिको शासन पुनर्बहाली हुनेमा विश्वस्त रहेको जनाइएको छ ।

‘प्रधानमन्त्री केपी ओलीको तानाशाही प्रवृत्तिको समर्थन गर्नु आफू र आफ्ना सन्ततिको भविष्यमाथि आफै बन्चरो प्रहार गर्नु हो,’ विज्ञप्तिमा उल्लेख छ, ‘विवेकशील साझा पार्टी सरकारको प्रतिकार गर्ने नाममा नागरिकलाई दुःख दिने र अर्थतन्त्रमा आघात पुग्ने बन्द, आमहड्ताल जस्ता कार्य नगर्न सबै पक्षलाई आग्रह गर्दछ । एउटा कुकर्मको सुधार अर्को कुकर्मबाट हुन सक्दैन ।’

प्रतिक्रिया दिनुहोस