हुम्लामा हिमपात हुँदा यात्रु अलपत्र, हवाई उडान अबरुद्ध

नौलो समाचार संवाददाता
२०७७ माघ २३, शुक्रबार मा प्रकाशित ५१ पटक पढिएको



माघ २३, काठमाडौं । हुम्लामा बिहीबारदेखि हिमपात हुँदा हवाई सेवामार्फत काठमाडौं, नेपालगञ्ज र सुर्खेत आउने यात्रु हुम्लामै थुनिएका छन् । शुक्रबार हुने भनिएका उडान हिमपातका कारण हुन नसक्दा यात्रु हुम्लामै अलपत्र परेका हुन् ।

आजको हवाई उडानमा काठमाडौं उड्न नपाएका दुर्गानाथ दाहाल भन्छन्, ‘‘बिहीबार नागरिकता बनाउने काम भइसकेको थियो । शुक्रबारको टिकटमा काठमाडौं जाने भनेको थिएँ । बिहीबार राति एक्कासी हिमपात भएर जानै नपाइने भयो । हुम्लाका होटलमा बस्दा उत्तिकै महंगो छ । अब हिमपातले कति दिन बस्नुपर्ने हो ।”

काठमाडौंदेखि नागरिकता बनाउन गएका थुप्रै व्यक्ति हुम्लामै थुनिएका छन् । हिमपात हुँदा त्यहाँको तापक्रम माइनस डिग्रीमा झरेको छ ।

हुम्ला एयरपोर्ट तारा एयरलाइन्सका टिकट म्यानेजर नुर्बू लामाका अनुसार बिहीबार सबै उडान भएका थिए । जहाज हुम्लामा नरोकिएका कारण नेपालगञ्ज, सुर्खेतबाट हुम्ला उड्ने जहाज यात्रु लिन जान नपाउँदा समस्या भएको छ । एक्कासी हिमपात भएकाले शुक्रबार हुने भनिएका उडान शनिबारका लागि सारिएको छ ।

प्रतिक्रिया दिनुहोस