नृत्य निर्देशक काभ्रेमा पुनः तौजले चयन

नौलो समाचार संवाददाता
२०७७ माघ २७, मंगलबार मा प्रकाशित १२९४ पटक पढिएको
नृत्य निर्देशक काभ्रेमा पुनः तौजले चयन

माघ २७, काभ्रे। नृत्य निर्देशकहरुको छाता संगठन नृत्य निर्देशक संघ नेपाल काभ्रे शाखाले नृत्य निर्देशक मोहन तौजलेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह वादेको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेहनले तौजलेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा नारायण हेंगजु, सचिवमा अमरकृष्ण चन्द, सह सचिवमा रविन्सन श्रेष्ठ, कोषाध्यक्षमा सिसुम श्रेष्ठलाई सर्वसम्मत निर्वाचित गरेको छ ।

यस्तै सदस्यहरुमा धनराज श्रेष्ठ, सोनिया शाक्य, कविता शाक्य, सुरेश दनुवार, मनिषा भुजेल, ईश्वर थापा, जानु शाही, काजल श्रेष्ठ, संगिता मानन्धरलाई अधिवेशनले चयन गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि बनेपा नगरपालिकाका प्रमुख लक्ष्मी नरसिंह बादेले कला संस्कृतिको जगेर्नाका लागि नृत्य निर्देशक संघले पु¥याएको योगदानको कदर गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । प्रमुख वादेले बनेपाको मौलिक नाच राजा रानी नृत्यलाई बृहत बनाउन आवश्यक रहेको बताउनुभयो । बादेले स्थानीय तहले मौलिक संस्कृतिको जगेर्ना गर्न लागिपर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नृत्य निर्देशक संघका केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठले नृत्य निर्देशकहरु अहिले पनि विविध कारणले पीडामा रहेको बताउनुभयो । यसको लागि सम्बन्धित निकायले विशेष ध्यान दिन केन्द्रीय अध्यक्ष श्रेष्ठले आग्रह गर्नुभयो । यस्तै वरिष्ठ लोक गायक मच्छेश्वर सापकोटाले आफू बुढेसकालमा समेत कलाक्षेत्रमा सक्रिय रहेको अनुभव सुनाउनु हुँदै कला क्षेत्रको उत्थानको लागि निरन्तर लागिरहन सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय संगितकर्मी संघका केन्द्रीय महासचिव बिक्रमजंग शाहले पद्धिछल्लो समय कोभिडका कारण कलाकारहरुले खेप्नुपरेको पीडालाई पोख्नुभयो । कोभिडको मारमा परेका कलाकारहरुलाई राहतका लागि सरकारले खासै चासो नदिएको गुनासो राख्नुभयो । केन्द्रीय महासचिव शाहले राष्ट्रिय संगितकर्मी संघले कोभिडको समयमा कलाकारहरुको लागि राहत बाँडेको बताउँदै आगामी दिनमा कलाकारहरुका लागि सरकार तथा स्थानीय तहका सरकारले उचित निती निर्माण गर्न आवश्यक रहेको औंल्याउनुभयो ।

कार्यक्रममा चर्चित गायक हरि कर्माचार्यले कोभिड पश्चात विभिन्न राजनितिक कार्यक्रममा भिड जम्मा गर्न मिल्ने तर कलाकारहरुले गरिखाने बाटो साँस्कृतिक कार्यक्रमहरु संचालन गर्न भने अझै सहज नरहेको गुनासो राख्नुभयो । कलाकारहरुका लागि भए पनि मेला महोत्सव तथा खुल्ला कार्यक्रमको आयोजना गर्ने वातावरण मिलाउन सम्बन्धित पक्ष अनि सरकार र स्थानीय तहलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा वरिष्ठ नृत्य निर्देशक राधेश्याम प्रधान, राष्ट्रिय संगितकर्मी संघ वागमति प्रदेशका सचिव कमल दाहाल, नृत्य निर्देशक संघका केन्द्रिय सचिव ज्ञानबहादुर महर्जन, सह कोषाध्यक्ष केशव कोईराला, केन्द्रीय सदस्य तथा प्रवक्ता ऋषिकेश श्रेष्ठ, ललितपुर जिल्ला अध्यक्ष दिपक रमण सिंह डंगोल, भक्तपुर शाखा उपाध्यक्ष नारायणी थापा रावत, गायक संगितकार सुरेन्द्र श्रेष्ठ, रेडक्रस सोसाइटी काभ्रेका संयोजक समुन्द्रलाल श्रेष्ठ, गायक संगीतकार सुरेन्द्र कुमार श्रेष्ठ लगायतका कलाकार तथा कलाप्रेमीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

संस्थाका अध्यक्ष मोहन तौजलेको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन सचिव अमरकृष्ण चन्दले संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस