कारवाहीपछि खाने तेलको भाउ बढाउने दुईमध्ये एक कम्पनीले मूल्य घटायो, बजारमा भने महंगै

नौलो समाचार संवाददाता
२०७७ माघ २८, बुधबार मा प्रकाशित ६८३ पटक पढिएको
कारवाहीपछि खाने तेलको भाउ बढाउने दुईमध्ये एक कम्पनीले मूल्य घटायो, बजारमा भने महंगै

माघ २८, काठमाडौं । लकडाउनको समय पारेर अस्वाभाविक रुपमा तेलको भाउ बढाउने अन्नपूर्ण भेजिटेबलले सूर्यमुखी र भटमास तेलको भाउ घटाएको छ ।

उत्पादन लागतको अनुपातमा बढी मूल्य लिएर बिक्री गर्दै आएकोले वाणिज्य बिभागको कारवाहीमा परेको अन्नपूर्ण भेजिटेबलले तेलको मूल्य घटाएको हो ।

कम्पनीले वाणिज्य आपूर्ति तथा उपभोक्ता विभागले निर्देशन दिएको दुई सातापछि तेलको मूल्य कार्टुनमा २ सय ६० रुपैयाँ घटाएको छ ।

उक्त उद्योगले तोरी, भटमास र सुर्यमुखी तेल उत्पादन गरी बिक्री गर्दै आएको थियो । विभागका अनुसार प्रतिकार्टुन २ हजार २ सय लिँदै आएका सुर्यमुखी तेलको मूल्य हाल प्रतिकार्टुन एक हजार ९ सय ४० रुपैयाँ बनाएको छ।

साथै प्रतिकार्टुन २१ सय भएको भटमासको तेल हाल प्रतिकार्टुन १ हजार ८ सय ४० रुपैयाँ भएको छ।

उद्योगले केही दिन यता तेलको मूल्य घटाएर बिक्री गर्न थालेको विभागका प्रवक्ता शिवराज सेढाइले जानकारी दिए।

उद्योगलाई मूल्य सच्याउनका लागि विभागले १५ दिनको समय दिएको थियो । विभागका बजार अनुगमनका निर्देशक सागर मिश्रले अन्नपुर्णा भेजिटेवलमा प्रालिले सूर्यमुखी र  भटमासको तेलमा मूल्य घटाएको बताए।

उनका उनुसार उद्योगले तोरीको तेल पुरानो मूल्यमा बिक्री गरिरहेकोले हाल दुई वटाको मात्र मूल्य घटेको हो।

उनका अनुसार तेल उद्योगले विभागको मूल्यसुची सच्याउने निर्देशन पाएपछि घटाएको मूल्यमा तेलको बिक्री गरेको विल देखाएको बताए । व्यवसायीहरुले उद्योगबाट घटेको मूल्यमा तेल खरिद गर्न थालेको उनको भनाई छ ।

गत दुई महिनादेखि बजारमा तेलको मूल्य बढेसँगै विभागले उद्योगहरुमा अध्ययन गरिरहँदा अन्नपुर्णा भेजिटेबल र महालक्ष्मी सोल्भेन्ट एण्ड रिफाइनरी प्रालिले अस्वाभाविक रुपमा खाने तेलको मूल्य बढाएको फेला पारेको थियो ।

त्यस समयमा उद्योगलाइ तत्कालको लागि ३ लाख जरिवाना गरिएको थियो । विभागले मूल्य सच्याउन पनि निर्देशन दिएको थियो । यति बेला कार्वाहीमा परेको दुई उद्योग मध्ये एक उद्योगले मात्र तेलको मूल्य घटाएको छ ।

बजार अनुगमनकमा निर्देशक सागर मिश्रका अनुसार महालक्ष्मी सोल्भेन्टलाई मूल्य नघटाएकोमा बिभाग बोलाइएको छ।

उक्त उद्योगले प्रशोधित भटमासको तेल उत्पादन गर्दै आएको छ । मूल्य सच्याउनका लागि उद्योग संचालकलाई बिहीबार विभागमा उपस्थित हुन निर्देशन दिएको छ । ‘उद्योगले आजसम्म मूल्य घटेको जानकारी दिएको छैन’- उनले भने ।

यसअघि अनुगमनका क्रममा उद्योगले बढाएको मूल्य तत्तकाल घटाउन भनेको थियो । मूल्य नघटाए कानुन अनुसार कारबाही गर्ने भनिएपनि एक महिना हुन लाग्दा पनि उद्योग विभागमा उपस्थित भएको छैन ।

वाणिज्य विभागको फितलो अनुगमनका कारण बजारमा व्यवसायीहरुको मनोवल थप उच्च भएको छ । उक्त उद्योगले तेलको मूल्य कति मूल्य बढाएको भन्ने खुलासा नगरेको विभागले यतिबेला कार्टुनमा २ सय ६० रुपैयाँ घटाएको जानकारी दिएको छ ।

तर उद्योगले तेलको भाउ घटाएपनि बजारमा भने त्यसको असर देखिएको छैन। खुद्रा व्यापार संघका अनुसार बजारमा तेलको मूल्यमा हालसम्म कुनै परिवर्तन आएको छैन।

उद्योगले मूल्य घटाएको भने पनि एम आर पी मूल्य पुरानै भएको संघका अध्यक्ष राजकुमार श्रेष्ठले बताए। उनका अनुसार उपभोक्ताले सुर्यमुखी प्रतिलिटर २ सय २० रुपैयाँमा र भटमासको तेल प्रतिलिटर २ सय १० रुपैयाँमा खरिद गरिरहेका छन् ।

बजारमा चौतर्फी तेलको मूल्य बढेपछि विभागले करिब २१ वटा तेल उद्योगसँग कागजपत्र मगाएको थियो ।

२१ मध्ये २ वटा उद्योगले मात्र तेलको मूल्य बढाएको विभागले जनाएको थियो । अन्य १९ वटा उद्योगले तेलको मूल्य नबढाएको विभागको भनाइ छ । तर बजारमा भने उपभोक्ताले जुनसुकै ब्रान्डका तेल खरिद गर्दा एउटै मूल्य तिरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस