यातायात व्यवसायीहरुको पेट्रोलियम पदार्थको मुल्यवृद्धि तत्कालै फिर्ता लिन माग, नलिए आन्दोलन

नौलो समाचार संवाददाता
२०७७ माघ २९, बिहिबार मा प्रकाशित ४५४ पटक पढिएको

यातायात व्यवसायीहरुको पेट्रोलियम पदार्थको मुल्यवृद्धि तत्कालै फिर्ता लिन माग, नलिए आन्दोलन

माघ २९, काठमाडौं। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मुल्यवृद्धि तत्कालै  फिर्ता लिन माग गरेको छ।

बिहिबार एक विज्ञप्ती जारी गर्दै मुल्यवृद्धि फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएका छन्।

‘सरकारले बेच्ने तेलको स्वचालित भन्दै मुल्यवृद्धि गरिएको छ।  हाम्रो पनि  वैज्ञानिक भाडादर भनिएको बर्षौदेखि समायोजन गरिएको छैन। पार्टपुर्जादेखि सबै कुराको मुल्य बढेको छ,’ महासचिव सरोज सिटौलाले भने,’ मुल्यवृद्धि फिर्ता नलिए तुरुन्तै बैठक डाक्छौ। एउटा निर्णय गरेर अघि बढ्छौ।’

सवारीसाधनसँग सम्वन्धित च्यासिस,पार्टपुर्जा, लुब्रिकेन्टस  लगायतमा अत्यधिक मुल्यवृद्धि भएको तर  कर, रुट इजाजत,दस्तुर, जाँचपास, बीमा, प्रिमियम लगायत सरकारबाट कुनै राहात, छुट, सुविधा सरकारले उपलब्ध नगराएको व्यवसायीहरुले गुनासो गरेका छन्।

सरकारबाट २०६५ फागुन २० गतेदेखि लागु हुने गरि प्रत्येक आर्थिक बर्षमा भाडा अनिवार्य रुपमा स्वतः यातायात व्यवस्था विभागबाट  समायोजन गर्नुपर्ने अवस्था भएतापनि हालसम्म नगरिएको उनीहरुको भनाइ छ।

कोरोना कहरको चपेटामा परेका कारण ठुलो  आर्थिक व्ययभार पर्न गइ बैंक किस्ता समेत तिर्न नसकिएको  विज्ञप्तीमा उल्लेख छ। त्यस्तो अवस्थामा पेट्रोलियम पदार्थको मुल्यवृद्धि थप असर गरेको  व्यवसायीहरुले बताएका छन्।

नेपाल आयल निगमले बुधबार राती १२ बजेदेखि लागु हुने गरि डिजेल र पेट्रोल २/२ रुपैया प्रतिलिटर मुल्य बढाएको थियो। उक्त मुल्य वृद्धि  फागुन ८ गतेभित्र  फिर्ता लिन नेपाल सरकार समक्ष व्यवसायीहरुले अनुरोध गरेका छन्।

फिर्ता नगरिएमा  महासंघको कार्य सम्पादन  सचिवालयको बैठक बसी आवश्यक निर्णय गरिने विज्ञप्तीमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस