भागरथीको हत्या गरे पनि बलात्कारचाहिँ नगरेको अभियुक्तको बयान

घटनाको नालीबेली
नौलो समाचार संवाददाता
२०७७ फागुन ५, बुधबार मा प्रकाशित ९०१ पटक पढिएको
भागरथीको हत्या गरे पनि बलात्कारचाहिँ नगरेको अभियुक्तको बयान

फागुन ५, काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ की १७ वर्षीया भागरथी भट्टको हत्या अभियोगमा स्थानीय १६ वर्षीय दिनेश भट्ट पक्राउ परेका छन् ।

‘वाइ विट्नेस’, घटना हुँदाको समयमा दिनेशको लोकेसन र स्वीकारी बयानका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दिनेशले प्रहरीसँगको बयानमा हत्या अभियोग स्वीकारे पनि बलात्कार नगरेको बताएका छन् ।

धकेलेर तल खसालेपछि हत्या गरेको तर बलात्कार नगरेको बयान दिनेशले दिएको सुदूरपश्चिम प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले जानकारी दिए ।

‘आरोपीले प्रारम्भिक बयानका क्रममा पाइन्ट घुँडासम्म खोलें तर त्यत्तिकै छाडें भनेर बयान दिएका छन्,’ डीआईजी सुवेदीले भने ।

तर जिल्ला अस्पताल बैतडीमा गरिएको पोस्टमार्टमको रिपोर्टमा भने बलात्कारपछि हत्या भएको देखिएको थियो ।

के भएको थियो घटनाको दिन ?

भागरथीको हत्या भएको दिनको घटनाक्रमबारे आरोपी दिनेश भट्टसँगको बयानको प्रारम्भिक तथ्य प्रहरीले बाहिर ल्याएको छ ।

आज (बुधवार) जिल्ला प्रहरी कार्यालय बैतडीमा पत्रकार सम्मेलन गरी जानकारी गराएअनुसार भागरथीको शव लबलेक जंगलमा बाटोभन्दा ३० मिटर तल फेला परेको थियो ।

प्रहरीले मुचुल्का उठाउँदा टाउको चोट, घाँटीमा दबाएको चोट, खुट्टाको औँलामा निलडाम, योनीमा रगत देखिएको थियो ।

बिहान १० बजे भागरथी अध्ययनका लागि सनातन धर्म मावि पुगेको देखिएको छ । आरोपी दिनेश भट्ट पनि सो दिन विद्यालय गएका थिए ।

दिनेश अन्तिम क्लास नलिई विद्यालयबाट बाहिरिएको देखिएको छ । उनी भागरथीभन्दा पहिले नै विद्यालयबाट बाहिरिएका थिए ।

घर फर्किने क्रममा सिल्ला गाउँमा भागरथीसँग भेट भएको दिनेशले प्रहरीलाई बताएका छन् ।

प्रहरीका अनुसार घटनास्थलमा उनी भागरथीभन्दा अगाडि गएका थिए । उनी भागरथी आउने प्रतिक्षामा बसेका थिए ।

उनी आएपछि दिनेशले बाटोबाट तल धकेले । भागरथी लडेपछि दुई हातले घाँटी थिचेर हत्या गरेको बयान दिनेशले दिएका छन् ।

त्यसलगत्तै भागरथीको मोबाइलको ब्याट्री झिकेर घटनास्थलमा फालेको र सडकको बायाँ हुँदै आफ्नो घर गएको दिनेशले प्रहरीलाई बताएका छन् ।

“तीनवटा प्रमाणका आधारमा पक्राउ”

भागरथी भट्टको हत्या आरोपीलाई ३ वटा प्रमाणका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीमा बुधवार दिउँसो पत्रकार सम्मेलन गर्दै प्रहरीले आरोपी त्यस क्षेत्रमा गएको देख्ने मानिस, लोकेसन ट्र्याक र स्वीकारी बयानका आधारमा पक्राउ गरिएको जानकारी दिएको हो ।

प्रहरीले सोही गाउँका १६ वर्षीय दिनेश भट्टलाई पक्राउ गरेको छ ।

‘हामीले आरोपित व्यक्तिको लोकेसन, आइ विट्नेस र स्वीकारी बयानका आधारमा पक्राउ गरेका हौं,’ सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले पत्रकार सम्मेलनमा भने, ‘आरोपितको बारम्बारको बयान बाझिएको अवस्था र उसले गरेको गतिविधिले पुष्टि गरेको हो ।’

पत्रकार सम्मेलनमा डीआईजी सुवेदीले चारैतर्फको दबाबका बावजुद घटनाको अनुसन्धानमा सफलता मिलेको बताए ।

‘अनुसन्धानकै क्रममा रहेकाले बलात्कारपछि हत्या या हत्यापछि भन्ने एकिन भएको छैन,’ डीआईजी सुवेदीले पत्रकार सम्मेलनमा भने, ‘यो त प्रारम्भिक अनुसन्धान हो, अरू अनुसन्धान हुन बाँकी नै छ ।’

प्रहरीले अन्य प्रमाणहरू विधिविज्ञान प्रयोगशालामा पठाइएको र त्यसको रिपोर्ट आएपछि थप कुरा खुल्ने बताएको छ ।

‘फरेन्सिक ल्याबमा पठाएका छौं, त्यो आएपछि सार्वजनिक गर्छौं,’ डीआईजी सुवेदीले भने ।

निजका गतिविधि, पोजिसन, साथीहरूको भनाइ आदिले उसको संलग्नता पुष्टि हुने प्रहरीको दाबी छ ।

‘अनुसन्धानका क्रममा प्रमाण भेटेर पक्राउ गरेका हौं । उमेरका सम्बन्धमा पनि अनुसन्धान गर्दैंछौं,’ डीआईजी सुवेदीले पत्रकार सम्मेलनमा भने, ‘थप व्यक्ति छ कि छैन भन्ने अनुसन्धान गर्दैछौं ।’

दाइको किटानी जाहेरी

भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका अभियुक्त दिनेश भट्टविरुद्ध भागरथीका दाजु केशव भट्टले किटानी जाहेरी दिएका छन् ।

केशवले जिल्ला प्रहरी कार्यालय बैतडीमा दिनेशविरुद्ध किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ ।​आरोपीलाई अनुसन्धानका लागि जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर हिरासतमा राखिएको छ ।​

दिनेशविरुद्ध करणी र ज्यानसम्बन्धी कसुर मुद्दा चलाइने प्रहरीले जनाएको छ ।​

दाजुको चाहना- “हदैसम्मको कारवाही होस्”

भागरथीका दाजु केशव भट्टले अपराधीलाई हदैसम्मको कारवाही भएको हेर्न चाहेको बताएका छन् ।

लोकान्तरसँग संक्षिप्त कुराकानी गर्दै केशवले ‘भागरथी हत्याका अपराधीलाई हदैसम्मको कारवाही होस्’ भनेका हुन् ।

दाजु केशवका अनुसार आरोपित दिनेश नाताले १३ दिने दाजुभाइ (हाडनाता) भित्रका हुन् ।

‘हाम्रो घरभन्दा अलिक माथि छ, आफ्नै भाइ पर्छ,’ केशवले भने, ‘त्यस्तो गर्ला जस्तो लगेको थिएन ।’

विगतका दिनमा के भएको थियो भन्ने विषयमा बोल्न नचाहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस