धुलिखेल काभ्रेकै पहिलोे बालमैत्री नगरपालिका घोषणा

स्थापना दिवसमा विभिन्न व्यक्तिलाई सम्मान
नौलो समाचार संवाददाता
२०७७ फागुन ५, बुधबार मा प्रकाशित ८९९ पटक पढिएको

धुलिखेल काभ्रेकै पहिलोे बालमैत्री नगरपालिका घोषणा

फागुन ५, काभ्रे । काभ्रे जिल्लाको धुलिखेल नगरपालिकालाई जिल्लाकै पहिलो बालमैत्री नगरपालिका घोषणा गरिएको छ । धुलिखेल नेपालको छैठौँ, वागमती प्रदेशको तेस्रो र जिल्लाको पहिलो बालमैत्री नगरपालिका बन्न सफल भएको हो ।

नगरपालिकाको ३५ औँ स्थापना दिवसको अवसर पारेर आज नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा निर्णय पत्र पढेर सुनाउनु भएको थियो ।

उहाँका अनुसार बालमैत्री नगरपालिका नाममा मात्र सिमित नगर्नको लागि नगरपालिकाले विभिन्न रणनितिक योजना पनि बनाएको छ ।

बालमैत्री नगरपालिका बनाउनको लागि नगरपालिकालाई विभिन्न संघसंस्थाहरुले पनि सहयोग गरेको थियो । नगरपालिकालाई बालमैत्री बनाउन पछिल्लो समय बालमैत्री स्थानीय शासन अन्तर्गतका ३९ सुचक मापन कार्यलाई तिव्रता दिइएको थियो ।

नगरपालिकाले बाल अधिकार सुनिश्चितताको लागि सबै वडामा बाल मैत्री संरचना र उद्यान निर्माण गरेको छ । नगरपालिकालाई बालमैत्री बनाउन सुरु गरिएको ४ बर्ष पछि मात्र सफल भइएको नगरपालिकाका सामाजिक विकास अधिकृत विदुर गौतम बताउनुहुन्छ ।

स्थापना दिवसमा विभिन्न व्यक्तिलाई सम्मान

धुलिखेल नगरपालिकाले आफ्नो ३५ औँ स्थापना दिवसको अवसरमा विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ । नगरपालिकाले दश व्यक्ति र एक संस्थालाई सम्मान गरेको हो । नगरपालिकाले जीवनको अधिकाँश समय धुलिखेल नगरको स्वास्थ्य क्षेत्रमा विशिष्ट योगदान पु¥याएको भन्दै धुलिखेल रत्नबाट डा.राजेन्द्र कोँजुलाई सम्मान गरिएको छ ।

यसैगरी धुलिखेल नक्षत्रबाट बद्रीबहादुर राई, धुलिखेल प्रज्ञाश्रीबाट भुवन चौलागाँई, धुलिखेल सेवाश्रीबाट नेपाल सरकारका सचिव गोपिनाथ मैनालीलाई दोसल्ला, सम्मानपत्र ओढाएर परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले सम्मान गर्नुभएको हो ।

यसैगरी कार्यक्रममा धुलिखेल नगरको विभिन्न क्षेत्रमा योगदान पु¥याएको भन्दै धुलिखेल ताराबाट नगरपालिकाका पूर्व प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुईटेल, शिक्षासेवी वेदप्रसाद कोँजु, सेभ द चिल्ड्रेन, सरोज प्याकुरेल, होटल सङ्घ काभ्रेकी सचिव ज्योत्सना सैँजुलाई सम्मान गरिएको छ ।

त्यसैगरी सेवाग्राहीहरुसँगको सम्बन्ध, इमान्दारिता, पेशागत निष्ठा, आचरण राम्रो भएको भन्दै नगरपाकिलाको स्वास्थ्य शाखामा कार्यरत सिअहेव शरदचन्द्र थापा र नगरपालिकाका सामाजिक विकास अधिकृत बिदुर गौतमलाई सम्मान गरिएको हो ।


प्रतिक्रिया दिनुहोस