निर्धारित मितिमा नै निर्वाचन सम्पन्न हुन्छ: मन्त्री ज्ञवाली

नौलो समाचार संवाददाता
२०७७ फागुन ५, बुधबार मा प्रकाशित ३८४ पटक पढिएको
निर्धारित मितिमा नै निर्वाचन सम्पन्न हुन्छ: मन्त्री ज्ञवाली

फागुन ५,  काभ्रे । परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले निर्धारित मिति आगामी बैशाख १७ र २७ गते निर्वाचन सम्पन्न हुने बताउएका छन् । आज (बुधबार) धुलिखेल नगरपालिकाको ३५ औँ स्थापना दिवस तथा काभ्रेको पहिलो बालमैत्री नगरपालिका घोषणा कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले निर्वाचनपछि नयाँ प्रतिनिधिसभा, नयाँ सरकार बन्ने र अहिले भईरहेका विकास निर्माणका कामलाई निरन्तरता दिने बताए ।

मन्त्री ज्ञवालीले देशमा राष्ट्रियता, सुशासन, विकास, सामाजिक न्यायको पक्षको कामले गति लिईरहेको समयमा केही नेताको ध्यान निरन्तर कुर्सीमा गएको बताए । उहाँले प्रधानमन्त्रीको कुर्सीलाई म्युजिकल चेयर जस्तो बनाउने, आलोपालो गर्न लागेको आरोप लगाए । उनले प्रधानमन्त्री र राष्ट्रपतिलाई बिस्थापित गराउने षड्यन्त्रमा नेताहरु लागेको र देशमा विदेशी चलखेल तथा हस्तक्षेप बढाउनेतर्फ नेताहरु लागेकोले प्रधानमन्त्रीले प्रतिनिधिसभा भङ्ग गर्नुपरेको बताए । उनले संवैधानिक निकाय, विभिन्न आयोगमा रिक्त रहका पदाधिकारी तथा राजदुत नियुक्तीमा नेताहरुले भागबण्डा खोजेको बताए ।

उनले आगामी १०÷१२ दिनमा सर्वोच्च अदालत र संवैधानिक इजलाशले सरकारले अघि बढाएको ताजा जनादेशमा जाने कुरालाई सम्मान गर्ने विषयको टुङ्गो लगाउनेमा सरकार विश्वस्त रहेको बताए । उनले आफुहरुले गल्ती गरेको भए दण्डित हुन तयार समेत रहेको बताए । मन्त्री ज्ञवालीले सरकारले तीनवर्षको अवधिमा ६ हजार किलोमिटर सडक निर्माण, पाँच सय नयाँ पुल, फुसका छाना हटाई जस्ताको छानो बनाउने, दुई लाख ६० हजार बालबालिकालाई बिद्यालय भर्ना गराएर अभिभावकत्व लिने काम गरेको बताए ।

प्रतिक्रिया दिनुहोस