पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुद्वारा आयल निगम घेराउ

नौलो समाचार संवाददाता
२०७७ फागुन ६, बिहिबार मा प्रकाशित १३४९ पटक पढिएको
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुद्वारा आयल निगम घेराउ

फागुन ६, काठमाडौँ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेकपाको दाहाल–नेपाल समूहनिकट विद्यार्थीले बिहीबार बिहान नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेका छन् । नेकपाको भ्रातृ संगठन अनेरास्ववियुले बबरमहलस्थित निगमको केन्द्रीय कार्यालय घेराउ गरेको हो ।

प्रदर्शनकारीले पेट्रोलियममा गरिएको मूल्यवृद्धि सरकारले तत्काल फिर्ता लिनुपर्ने भन्दै नारा लगाएका थिए । अनेरास्ववियुले प्रतिनिधिसभा विघटन र पेट्रोलियममा मूल्यवृद्धिविरुद्ध बिहीबार बिहान देशभरका क्याम्पसमा विरोध प्रदर्शन पनि गरेका थिए ।

पेट्रोलियम पदार्थमा लगाइएको शतप्रतिशत करका कारण सर्वसाधारण इन्धन खरिदमा चर्को मूल्य तिर्न बाध्य भएका छन् । यसले इन्धनसँग अन्तरसम्बन्धित सबैजसो सामग्रीको भाउलाई प्रभावित गरेको छ ।

सरकारले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ बढाएको छ । नयाँ मूल्यसूचीअनुसार पेट्रोल १ सय १४ रुपैयाँ, डिजेल ९७ रुपैयाँ, मट्टीतेल ९७ रुपैयाँ र हवाई इन्धन ६७ रुपैयाँ कायम भएको छ । आयल निगमले कायम गरेको पेट्रोलको मूल्य साढे २ वर्षयताकै उच्च हो ।

प्रतिक्रिया दिनुहोस